विश्वकप छनोट खेलेर स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली

विश्वकप छनोट खेलेर स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली



काठमाडौं । जिम्बाव्वेमा भएको विश्वकप क्रिकेट छनोटमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टिम आज शुक्रबार स्वदेश फर्केको छ ।

नेपाली टोली विश्वकप छनोट क्रिकेटअन्तर्गत सातौं स्थानको प्लेअफमा टेस्ट मान्यताप्राप्त मुलुकआयरल्यान्डसँग २ विकेटले पराजित भएको थियो ।

सन् २०१८ मा जिम्बावेमै भएको विश्वकप छनोटको पछिल्लो संस्करणमा पनि आठौं स्थान हात पार्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । आयरल्यान्डसँगको खेल नेपालको टेस्ट राष्ट्रसँग तेस्रो एकदिवसीय खेल थियो । यसै प्रतियोगितामा अर्का दुई टेस्ट राष्ट्र जिम्बावे र वेस्ट इन्डिजसँग पनि नेपाल पराजित भएको थियो ।

नेपालले अघिल्लो खेलमा सातौं स्थानको प्लेअफ सेमिफाइनलमा यूएईमाथि ३ विकेटको सानदार जित हासिल गरेको थियो । त्यसअघि समूह चरणको पहिलो खेलमा जिम्बावेसँग नेपाल ८ विकेटले पराजित भयो ।

अमेरिकालाई ६ विकेटले पराजित गरे पनि त्यसपछि वेस्ट इन्डिजसँग १ सय १ रन र नेदरल्यान्ड्सँग ७ विकेटले पराजित भएपछि नेपाल सुपर सिक्स पुग्न असफल भएको थियो ।

स्वदेश फर्केपछि विमानस्थलमा पत्रकारसित कुरा गर्दै कप्तान रोहितकुमार पौडेलले विश्वकप छनोटमा सोचे अनुसारको नतिजा नआए पनि धेरै कुरा सिकेको बताए ।

एशोसिएटकै बलिया टिम र टेष्ट टिमसँग खेल्दाको अनुभव अबका प्रतियोगितामा उपयोग गर्ने उनले बताए । फुल मेम्बर टिमसँग खेल्न पायौं भने हामीले पनि उनीहरुलाई हराउन सक्छौं भन्ने आत्मविश्वास बढेको पौडेलले बताए ।