प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीइओमा रमेश कुमार भट्टराई नियुक्त

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीइओमा रमेश कुमार भट्टराई नियुक्त



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रमेश कुमार भट्टराईको नियुक्तिलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको छ ।

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको एकिकृत कारोबार यही आषाढ २९ बाट हुने निर्णय भइसकेको छ । दुबै कम्पनी बीचमा २०७९ आषाढ ३० गते मर्जरको प्रारम्भिक सहमति र २०८० जेष्ठ ३ मा अन्तिम सहमति भएको थियो ।

दुबै सम्झौतामा महालक्ष्मी लाईफका प्रभुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईलाई मर्जर पछिको आगामी ४ वर्षको लागि एकिकृत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने सहमति भएको थियो । उक्त दुबै सहमतिलाई प्रभु र महालक्ष्मी लाईफको जेष्ठ २६ को वार्षिक साधारण सभाले अनुमोदन गरे पछि मात्र बीमा प्राधिकरणले नियुक्ति स्वीकृति दिएको हो ।

व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका रमेश कुमार भट्टराई महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको स्थापनाकाल देखिको प्रमुख कार्यकारी अधिकृत रहेका थिए । २०३८ सालमा नेपाल बैंक लि।को अधिकृत बाट बैकिङ करिअर प्रारम्भ गरेका उनी विगत ४२ वर्ष देखि बैंक र बीमा क्षेत्रमा निरन्तर सेवारत छन् ।

विगत २८ वर्ष देखि निरन्तर कार्यकारी प्रमुख जस्तो नेतृत्वदायी भुमिकामा रहेका उनले कार्यरत सबै कम्पनीलाई सफल नेतृत्व प्रदान गरेकाले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडलाई पनि उचाइमा पुर्‍याउने विश्वास कम्पनीले गरेको छ ।