अर्थमन्त्री महत र भारतीय अर्थमन्त्री सितारामणबीच गुजरातमा भेटवार्ता

अर्थमन्त्री महत र भारतीय अर्थमन्त्री सितारामणबीच गुजरातमा भेटवार्ता



गुजरात । भारतको गुजरातमा भइरहेको G20 अर्थमन्त्रीहरुको बैठकको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सितारामणबीच द्विपक्षीय साईडलाइन बैठक सम्पन्न भएकाे छ । बैठकमा आपसि सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको हाे । नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुबै अर्थमन्त्रीले जोड दिए । ।

अर्थमन्त्री महतले नेपालका प्रधानमन्त्रीको भारत भ्रणको क्रममा सम्पन्न विद्युत निर्यात सम्बन्धी समझदारी कार्यान्वयनबाट आगामी दस बर्षमा १० हजार मेघावाट जल विद्युत भारत निकासी भई व्यापार घाटा घटाउन मद्दत मिल्ने विषय उल्लेख गरे ।

दुई देशवीचको ब्यापार तथा लगानी सहजीकरणको लागि मिलेर काम गर्ने विषयमा एउटै मत रह्यो ।

भारतका अर्थमन्त्रीले एन पिएचएल र भारतको इन्टरनेशनल पेमेन्ट लिमिटेड बीच भएको समझदारी बमोजिम संयुक्त विद्युतीय भुक्तानी संयन्त्र कार्यान्वयन गर्न छिटो काम अघि बढाउन अनुरोध गरेकी छन् । अर्थमन्त्री महतले छिट्टै कार्यान्वयनमा लैजाने गरी संयन्त्र स्थापना गर्न काम गर्ने बताए ।

भेटवार्ताका अवसरमा महतले नेपालको सूचना प्रविधि क्षेत्रमा भारतीय लगानीको लागि राम्रो विकल्प रहेको र व्यवसायिक संभाव्यता एवं पर्याप्त जनशक्ति उपलब्ध भएकोले सो क्षेत्रमा लगानी बढाउन समेत अनुरोध गरेका छन् ।

G 20 सम्मेलनमा नेपाललाई पनि निमन्त्रणा गरी सहभागि हुने अवसर दिनुको साथै यो मञ्चमा नेपाल लगायत कम आय भएका देशको सरोकारका बिषयहरू राख्न अवसर दिएकोमा धन्यवाद दिदै G20 को गतिशील एवं सवल नेतृत्व लिएकोमा अर्थमन्त्री महतले भारतलाई बधाई दिएका छन् ।

आपसी हितका आर्थिक क्षेत्रमा आगामी दिनमा सम्बन्ध विस्तार गर्दै जानु पर्नेमा दुबै देशका अर्थमन्त्रीले जोड दिएका थिए ।