बागमती प्रदेशमा घट्यो सार्वजनिक सवारीको भाडा

बागमती प्रदेशमा घट्यो सार्वजनिक सवारीको भाडा



काठमाडौं । बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटेको छ । बागमती प्रदेश सरकारले आजैदेखि लागू हुने गरेर सार्वजनिक सवारीको भाडादर समायोजन गरेसँगै गाडीभाडा घटेको हो ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि प्रदेशभित्र चल्ने सवारी साधनको भाडादर घटाएको श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । आजदेखि लागू हुने गरेर प्रदेशभित्र चल्ने लामोदूरीका यात्रुबाहक सवारी साधनको भाडादर २.३० प्रतिशतले घटेको छ ।

प्रदेश भित्र चल्ने (लामो–छोटो दूरी) मालबाहक सवारी साधनको भाडादर ३.१८ प्रतिशतले घटेको छ । यसका साथै, प्रदेशभित्रका ठूला सहरी क्षेत्रमा चल्ने सिटी बसको भाडादर ३.२६ प्रतिशतले घटेको छ ।

विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि पछिल्लो समय नेपाल आयल निगमले समेत मूल्य समायोजन गर्दै आइरहेको छ । पछिल्लो पटक निगमले १५ दिनको अवधिमै पेट्रोलियम पदार्थको मूल्य दुई पटक समायोजन गरिसकेको छ । यस्तै, निगमले अबदेखि स्वचालित मूल्य प्रणाली लागू गर्ने घोषणा समेत गरिसकेको छ ।