प्रचण्ड कांग्रेसको कान समातेर हिँडेका छन् : ओली

प्रचण्ड कांग्रेसको कान समातेर हिँडेका छन् : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसको काधँमा बसेको टिप्पणी गरेका छन् ।

शुक्रबार भक्तपुरमा आयोजित जनसंगठन समन्वय संयन्त्रको बैठकमा उनले कांग्रेसको दुर्गति यति चाँडै हुन्छ भन्ने नसोचेको बताए । उनले कांग्रेस माओवादीको ढाकर बोकेर हिँडेको भन्दै कटाक्ष गरेका हुन् ।

“कांग्रेसको नसिबमा यति चाँडै यो दुर्गति । माओवादीको ढाकर बोक्या हेर त,” उनले हाउभाउका साथ भने, “अहिले कांग्रेसको दुईपट्टी टिलिक्क परेका जुत्ता लगाएका खुट्टा यतापट्टी झारेर प्रचण्ड कानमा समातेर हटहट गरेर हिड्याछन् । कांग्रेस लुरुलुरु । कांग्रेसको भाग्यमा थियो । अब कठैबरा भन्न सकिन्छ ।” उनले कांग्रेसले भ्रष्टाचारकै विरुद्ध बोल्नै नसक्ने आरोप लगाए ।

ओलीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुनै नसकेको बताएका छन् । उनले पार्टी एकता प्रचण्डको चाहना नै नरहेको बताए । ‘माओवादीसँग एकता भनिए पनि एकता हुँदै भएन’ ओलीले भने, ‘हामीले छुट्टै भेला गरेनौं । प्रचण्डले आफ्नो पार्टी जिवितै राखे । बैठक गरे ।’

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा एमालेकै रकममा प्रचण्ड चलेको पनि ओलीले आरोप लगाए । ‘आफ्नो हिसाबकिताब बुझाएनन्, रकम बुझाएनन् । एमालेको रकम लिए, एमालेको रकममा चले, एमालेको रकम खाए, पिए, सबै गरे’ ओलीले भने ।

पार्टी कब्जा गर्न नसके फेरि अलग हुनुपर्ने बुझेर प्रचण्डले हिसाबकिताब र पार्टी कार्यालय अलग गरेको ओलीले बताए ।