सुन तस्करीमा सरकार आफूलाई बचाउने, अरुलाई फसाउने खेलमा : ओली

सुन तस्करीमा सरकार आफूलाई बचाउने, अरुलाई फसाउने खेलमा : ओली



नेपालगन्ज । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको जानकारीबिना एयरपोर्टमा एक क्विन्टल सुन भित्रन सम्भव नभएको बताएका छन् । ‘एउटा सुइसमेत छिर्न नसक्ने एयरपोर्टमा कसरी एक क्विन्टल सुन भित्रिन सम्भव हुन सक्छ,’ ओलीले भने, ‘त्यहाँका मान्छे, मेसिन सुतेका बेला त्यो सुन भित्रिएको हो र !’

सरकारले सुन तस्करीमा आफूहरूलाई बचाउने अरुलाई फसाउने काम गरिरहेको ओलीको आरोप छ । उनले सत्ताधारी दलले देश लुटिरहेको आरोपसमेत लगाए । गठबन्धनका नाममा सत्तारुढ दलले कुनै पनि सार्थक काम गर्न नसकेको आरोप लगाए ।

शनिबार नेपालगन्जमा लुम्बिनी प्रदेशका निर्वाचित जनप्रतिनिधिहरूको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले बेथिती, भ्रष्टाचार बढेकोले देशमा एमालेको विकल्प नभएको बताए ।

ओलीले मुलुकमा एमालेबाहेक अर्को कुनै विकल्प नरहेको बताएका छन् । उनले मुलुक बनाउने भिजन एमालेसँग मात्र रहेको जिकिर गरे । एमालेबाहेक देशलाई हेर्न र फेर्न सक्ने दृष्टिकोण अरू कुनै पार्टीसँग नरहेको उनको भनाइ छ ।

एमाले ‘मिसन ८४’ मा केन्द्रित रहेको भन्दै अध्यक्ष ओलीले यसलाई सफल बनाउँदै पार्टीको बहुमत आउने गरी तयारी गर्न नेता–कार्यकर्तालाई निर्देशन दिए ।

आउँदो निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने उनले दोहोर्‍याए । एमालेको नीतिसँग सहमत हुने, विकासको अभियानलाई अघि बढाउन चाहने राजनीतिक शक्ति र व्यक्तिहरूलाई सँगै लिएर अघि बढ्ने योजना उनले सुनाए ।

अहिले पनि एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएको भन्दै उनले सक्रिय र सतर्कतासाथ योजनाबद्ध ढंगले लाग्न कार्यकर्तालाई निर्देशन दिए ।