साउन २२ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

साउन २२ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित



काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच संसद सञ्चालनको विषयमा सहमति हुन नसकेपछि प्रतिनिधिसभा बैठक २२ साउनसम्मका लागि स्थगित भएको छ ।

मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दैन नबसी २२ साउनलाई सारिएको हो । संघीय संसद सचिवालयले मंगलबार एक सूचना जारी गरी प्रतिनिधिसभा बैठक २२ साउनको दिउँसो १ बजेका लागि तोकिएको छ ।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट भित्रिएको क्वीन्टलबढी तस्करीको सुन सिनामंगलमा राजस्व अनुसन्धान विभागले समातेको प्रकरणमा उच्चस्तरीय छानबिन बनाउन एमालेले माग गर्दै आएको छ । तर सत्तारुढ गठबन्धनले उक्त समिति गठन गर्न अस्वीकार गर्दै आएको छ ।

सो प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै एमालेले गत साउन १० गते बसेको प्रतिनिधिसभा बैठकमा अवरोध गरेको थियो भने साउन १५ गतेका लागि तय भएको बैठक पनि एमालेको अडानका कारण सूचना टाँस गरेर स्थगित भएको थियो ।