शेखरकाे प्रश्‍न : नयाँ काण्ड आउँछ, ३ नेता बसिहाल्छन् किन ?

शेखरकाे प्रश्‍न : नयाँ काण्ड आउँछ, ३ नेता बसिहाल्छन् किन ?



काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशमा एकपछि अर्को काण्ड भइरहँदा त्यसमा माथिल्लै तहको संलग्नता हुने गरेको दाबी गरेका छन् । यस्ता घटनाहरु बाहिर आउने बित्तिकै दलका शीर्ष नेताहरु बैठक बसिहाल्नु अर्थ के हो भन्ने पनि उनले प्रश्न गरेका छन् ।

काठमाडौंमा बिहीबार नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले ती नेताबीच के विषयमा छलफल हुन्छ भन्ने नै थाहा नभएको बताए ।

पछिल्लो समयको क्विन्टल सुन तस्करी प्रकणतर्फ संकेत गर्दै नेता कोइरालाले भ्रष्टाचारको अन्त्य भए मात्र देश सुशासनको बाटोमा अघि बढ्ने बताए । ‘अहिले अर्को नयाँ घटनाक्रम छ, जे घटना हुन्छ, तीन जना नेताहरु बसिहल्नुहुन्छ, किन बस्नुहुन्छ के छलफल हुन्छ ? केही थाहा छैन,’ नेता कोइरालाले भने, ‘हिजो–अस्ति मात्र पनि बसिराखेको जस्तो लाग्छ । यसले के सन्देश दिइरहेको छ ? के भइरहेको छ ? यसले देशलाई कहाँ पुर्‍याउँछ ? त्यसैले हामीले भ्ररष्टाचारको अन्त्य गरेर सुशासनको बाटोमा अघि बढाउने हो भने मात्रै देश बनाउन सकिन्छ ।’

अहिले क्विन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले मात्र अनुसन्धान गर्नु र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नहेर्नु अचम्मको विषय रहेको कोइरालाले बताए ।

नेकपा एमालेले संसद् अवरुद्ध पार्दा देशलाई क्षति भइरहेको उनले बताए । संसद् अवरुद्ध हुँदा सत्ता पक्षले पनि विचार गर्न आवश्यक रहेको उनले बताए ।

उनले अहिले देश अत्यन्तै अप्ठ्यारो अवस्थामा रहेको र अराजकतातर्फ गएको पनि बताएका छन् ।