काठमाडौं । सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति बनाउन माग गर्दै नेकपा (एमाले) का सांसदहरुले राष्ट्रिय सभा अवरुद्ध गरेको छ । एमालेका सांसदहरुले सभा अवरुद्ध गरेसँगै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठलाई आफ्नो भनाई राख्न समय दिएका थिए ।
श्रेष्ठले सरकारले सत्यतथ्य छानविनका लागि उच्चस्तरीय समिति बनाएर संसद् राम्रोसँग चल्ने वातावरण बनाउन पर्ने बताए । उनले नेपाललाई तस्करहरुको देश बनाउन नहुने बताए । उनले उक्त प्रकरणमा जो कोही भएपनि कारबाहीको दायरामा आउन पर्ने बताए ।
‘नेकपा (एमाले) यी सबै पक्षहरुलाई टुलुटुलु हेरेर बस्ने पक्षमा छैन । यी कुराहरुको सत्यतथ्य छानविन होस् । जबसम्म छानविनका लागि उच्चस्तरीय समिति बन्दैन तबसम्म कार्यसूचीमा रहेका विषयहरु अगागि नबढाइयोस्,’– उनले भने ।
सभाका अध्यक्ष तिमिल्सिनाले निरन्तर संसद् अवरुद्ध हुँदै आएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनले संसद खुलाउने विषयमा पहल लिन आग्रह गरे । एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक साउन २२ गते सोमबार १ बजे बस्ने गरी स्थगित भएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट निकालिएको करिब एक क्विन्टल सुन साउन २ मा सिनामंगल सडकबाट बरामद गरिएको थियो । भन्सार यार्ड पार गरेर बाहिरिएको क्विन्टल सुन बरामद भएको दुई साता बितिसक्दा तस्करीमा प्रयोग भएका व्यक्ति मात्र पक्राउ परेका छन् । सुन बरामद हुँदा एक भन्सार एजेन्ट र एक ट्याक्सी चालक पक्राउ परेका थिए । त्यसबाहेक भन्सार अधिकृत, तीन भन्सार एजेन्ट र तीन विदेशी नागरिकसहित १७ जना समातिएका छन् ।
राजस्व अनुसन्धान विभागले यो प्रकरणको छानबिन गरिरहेको छ । तर एमालेले भने उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध गर्दै आएको छ ।
प्रतिक्रिया