काठमाडाैं । सरकारले निर्माण व्यवसायीहरूको माग सम्बोधन नगरे देशभर निर्माण कार्य ठप्प पार्ने निर्माण व्यवसायीहरूले चेतावनी दिएका छन् ।
शुक्रवार उनीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निर्माण उपकरणसहित धर्ना दिए । कार्यक्रममा निर्माण व्यवसायीहरूले पूर्ववर्ती सरकारले गरेका गल्तीहरू सच्याएर देश विकासका लागि सरकार सच्चिन आवश्यक रहेको बताएका छन् ।
उनीहरुले बजेट दिन नसक्ने आयोजनाहरू खारेज नगरे देशमा निर्माण व्यवसायीहरूको आन्दोलन थप चर्किने चेतावनी दिए ।
विरोध कार्यक्रममा बोल्दै महासङ्घका पूर्वअध्यक्ष जयराम लामिछानेले निर्माण व्यवसायीहरू सरकारबाट नै ठगिरहेको आरोप लगाए । उनले सरकारको काम निर्माण व्यवसायीहरूले गरेकाले कामको भुक्तानी सबैभन्दा पहिला गर्नुपर्ने बताए ।
विरोध कार्यक्रममा बोल्दै महासङ्घका अध्यक्ष रवि सिंहले आन्दोलन गर्नुपूर्व धेरै पटक प्रधानमन्त्रीको ध्यानाकर्षण गराए पनि माग सुनुवाइ नभएकाले आन्दोलन गर्न बाध्य भएको बताए । असार मसान्तसम्म सबै कामको भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि सोअनुसार कार्यान्वयन गर्न नसकेको गुनासो गरे ।
निर्माण व्यवसायीहरूले बजेट बिनाका आयोजनाहरू खारेज गरी मूल्य समायोजन गर्नुपर्ने, एकमुस्ट म्याद थप गर्नुपर्ने लगायतका माग राखेका छन् ।
प्रतिक्रिया