काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताको मंगलबारको छलफल पनि निष्कर्षविहीन बनेको छ ।
सदनको अवरोध हटाउने विषयमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज बालुवाटारमा छलफल भएको थियो ।
बिहान १० बजेदेखि बसेको बैठक निष्कर्षविहीन भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
एमालेले सुन प्रकरणको छानबिनको लागि उच्चस्तरीय समितिको माग गर्दै संसद अवरूद्ध गर्दै आएको छ। साउन १० गतेदेखि संसदको नियमित कार्यसूची अघि बढ्न सकेको छैन ।
बैठकमा कुनै सहमति नभए पनि आजको संसद् अघि बढ्ने एमालेका सचेतक महेश बर्तौलाले बताए । उनले आजको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बोल्न पनि बताएका छन् ।
“संसद्मा मान्यज्यूहरुले आफ्नो धारणा राख्नुपर्नेछ । बाढी पहिरोको समस्या छ । लम्पी स्किनका विषय छन् । तमाम विषयले सदन चलाउनुपर्ने छ । सरकार आफ्नो अडानमा रह्यो,” उनले भने, “उच्चस्तरीय छानबिन समिति बनाउन तयार नभएको स्थिति हुँदाहुँदै पनि आज गृहमन्त्रीज्यूले केही कुरा सदनमा राख्ने हुँदा आज बैठक अघि बढाउनेछ । गृहमन्त्रीको जवाफ सुन्छौँ । आज बैठक अघि बढ्छ ।”
उनले सरकार एमालेलाई थकाउने र भ्रम छर्ने रणनीतिमा देखिएको बताए ।
प्रतिक्रिया