एमालेको नाराबाजीपछि संसद् बैठक स्थगित

एमालेको नाराबाजीपछि संसद् बैठक स्थगित



काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध गरेको छ । शुक्रबारको बैठकमा एमालेले सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै अवरोध गरेको हो ।

एमालेकी सांसद् ज्वाला कुमारी शाहले आकस्मिक समयमा बोल्न थालेपछि सत्तारुढ दलका सांसदहरुले उठेर विरोध गरे । त्यसपछि सभामुखले नियमको पालना गर्न आग्रह गरे । ‘नियमको पालना गरौं । मैले समय प्रतिपक्ष दलको माननीयबाट ज्वाला कुमारी साहलाई दिएको छु । उहाँले बोलिसकेपछि यहाँहरको कुरा के हो त्यो म सुनाउने छु ।’

सभामुख देवराज घिमिरेले सभा चलाउने तजबिज आफूसँग रहेको बताए । ‘माननीय सदस्यहरु आलोपालो मैले नियन्त्रण गरेको हुनपर्ने छ । मेरो कुराको आधारबाट यो सभा सञ्चालन गर्नुपर्ने छ’ सभामुख घिमिरेले भने ।

होहल्लाकाबीच एमाले सांसद साहले सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताइन् । सत्तापक्षका सांसदहरुको होहल्लाका कारण ‘कुरा नसुनिएको’ उल्लेख गर्दै सभामुखले एमाले सांसद साहलाई बस्न आग्रह गरे ।

लगत्तै एमालेले नाराबाजी गर्दै वेल घेराउ गर्यो ।

संसदमा अवरोध भएपछि सभामुख घिमिरेले कार्यसूचीमा भएका सबै विषय हटाएर अर्को बैठक यही साउन २९ गते दिनको १ बजे बस्ने गरी बैठक स्थगित गरे ।

प्रतिनिधिसभाको बैठक एमालेले साउन १० यता लगातार अवरुद्ध गर्दै आएको छ । साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टलभन्दा बढी सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

त्यसको छानबिन सुरुमा राजश्व अनुसन्धान विभाग गरेको थियो भने पछि नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको छ । एमालेले उक्त सुन तस्करीको छानबिन गर्नका लागि उच्च स्तरीय समिति गठन गर्न संसद् अवरोध गरेर दबाब दिइरहेको छ ।