काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकमा सो पार्टीका सांसद डा सुनिल शर्माको पक्राउ बारेमा सांसदहरूले आफ्ना धारणा व्यक्त गरेका छन् ।
कांग्रेस संसदीय दलको आज बसेको बैठकमा केही सांसदहरूले सांसद शर्माको सात/आठ वर्षअघिको मुद्दा भएको र अहिले सुन तस्करी प्रकरणका सम्बन्धमा बोलेका कारण प्रतिशोध साँध्न पक्राउ गरेको हुनसक्ने भनी टिप्पणी गरेका हुन् ।
बैठकमा नेताहरूले पक्राउ आपत्तिजनक रहेको बताए पनि पार्टीको आधिकारिक धारणा पर्सि मात्र बनाइने पार्टीका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । “आज नेताहरूले सुनील शर्माको पक्राउ अप्रत्यासित र आपत्तिजनक छ भनेर धारणा राख्नुभएको छ । थप छलफल गरेर पूर्ण निर्णय पर्सि गर्छौं,” लेखकले भने ।
बैठकमा संसद् बैठकको अवरोध, संसद्मा विचाराधीन र प्रस्तुत हुनुपर्ने आवश्यक विधेयक, बजेटको प्रभावकारी कार्यान्वयन, संसद्मा कांग्रेसको प्रभावकारी भूमिकाका बारेमा सांसदहरूले आफ्ना धारणा राखेकाे सांसद डिल्लीराज पन्तले जानकारी दिए ।
यसैगरी बैठकमा सांसदहरूले अविरल वर्षाका कारण मुलुकभर आएको बाढीपहिरो, डेङ्गु रोग, लम्पी स्किन सङ्क्रमण, आँखा पाक्ने रोगको नियन्त्रण र रोकथाम तथा महङ्गी नियन्त्रण, सुशासन कायम गर्नेलगायत विषयमा आफ्ना धारणा व्यक्त गरेकाे उनले बताए ।
शुक्रबारको बैठकमा करिब डेढ दर्जन सांसदले आफ्ना धारणा व्यक्त गरेकाे र धारणा राख्ने क्रम बाँकी रहेकाले अर्काे बैठक आइतबार दिउँसो १ बजे पुनः बस्ने पार्टी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया