एक वर्षभित्र तीनै तहको निर्वाचन हुन्छ, तयार भएर बस्नुस् : प्रम देउवा

एक वर्षभित्र तीनै तहको निर्वाचन हुन्छ, तयार भएर बस्नुस् : प्रम देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । वर्तमान सरकार गठन भएको छ महिना पुगेको अवसरमा उनले राष्ट्रका नाममा आज सम्बोधन गरेका हुन।

नेपाली कांग्रेसका सभापति रहनुभएका उनले गत असार २९ गते प्रधानमन्त्रीको सपथ लिएका थिए । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा यस अवधिमा सरकारले गरेका कारकारवाही र मुलुकको वर्तमान अवस्थाबारे जानकारी गराए । सम्बोधनका क्रममा उनले सरकारले कोभिड–१९ सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकारले गरेका कामका बारेमा जानकारी गराउँदै यस कार्यमा सबैको सहयोग गर्न आग्रहसमेत गरे ।

प्रधानमन्त्री देउवाले विपदमा परेका जनताको उद्धारमा गरिएको प्रयास र उच्च प्राथमिकताका साथ राहत र क्षतिपुर्ति प्रदान गरिएको उल्लेख गर्दै बेमौसमी वर्षाका कारण कृषिमा भएको क्षतिको क्षतिपूर्ति प्रदान गर्ने कार्य अघि बढेको र कृषकलाई मल एवम् बीउको कमी हुन नदिन हरसम्भव प्रयत्न गरिएको बताए ।

प्रधानमन्त्री देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन हुने घोषणा गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एक वर्षभित्रै हुने भएकाले तयारीमा रहन निर्देशन दिएका हुन् । प्रमख राजनीतिक दलहरूबीच निर्वाचनको विषयमा छलफल चलिरहेका बेला प्रधानमन्त्रीले तीनै तहको निर्वाचन एक वर्षभित्र गर्ने घोषणा गरे पनि कुन निर्वाचन कहिले गर्ने भन्ने खुलाएनन् । आगामी वैशाखमा स्थानीय तहको कार्यकाल सकिँदैछ । सत्तारुढ गठबन्धनमा निर्वाचनको मिति तोेक्नेबारे सहमति जुटिसकेको छैन ।

मेलम्चीको पानी यसै वर्षभित्र काठमाडौं आउँछ
प्रधानमन्त्री शेरबहादुर देउवाले यसै वर्षभित्र मेलम्चीको खानेपानी काठमाडौं उपत्यका ल्याउने बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा देउवाले गत असारमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स पुरिएको र सडक सबै भत्काएकाले पुनर्निर्माण गरेर आगामी चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं आउने बताए ।

मेलम्ची खानेपानी आयोजना विकास समितिले चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोलाई नै मेलम्ची पुनर्निर्माणको जिम्मा दिएको छ । आयोजनाले चैतभित्रै पानी राजधानी ल्याउने यसअघि नै जनाइसकेको छ ।

संवाद र सहमतिमै संसदको गतिरोध अन्त्य
प्रधानमन्त्री देउवाले संघीय संसदमा देखिएको गतिरोधको अन्त्य संवाद र सहमतिबाटै गर्ने बताएका छन् । शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अहिले संसदमा देखिएको गतिरोध अन्त्यमा राजनीतिक दलहरूबीच संवाद र सहमतिबाट हुने बताएका हुन् । नेकपा एमालेका सांसदहरूको नाराबाजीले संघीय संसद बैठकमा अवरोध सृजना भइरहेको छ ।