संसद अवरोध खुलाउन दलका शीर्ष नेतासँग प्रधानमन्त्रीले छलफल गर्दै

संसद अवरोध खुलाउन दलका शीर्ष नेतासँग प्रधानमन्त्रीले छलफल गर्दै



काठमाडौं । दिउँसो साढे १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुसँग सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा संसद अवरोधबारे छलफल गर्दैछन् ।

गत निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय मान्यताप्राप्त पार्टी बनेका छन् ।

गत साउन १० गतेदेखि नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध गरेको हो ।

अवरोध खुलाउन प्रधानमन्त्री प्रचण्डले पहल गर्दै आएका छन् । तर दलहरुबीच सहमति नजुटेकाले आज दिउँसो १ बजे बोलाइएको संसद बैठक पनि बस्ने नबस्ने अनिश्चित छ ।

सदनको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले पनि छलफल गर्दैछन् । सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गर्न सिंहदरबारस्थित संसद सचिवालय भवनमा ११ बजे बैठक बोलाईएको छ ।