काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ ।
नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानसहित साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ ।
सदन सञ्चालन गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले संसदमा भएका प्रमुख दलहरुको बैठक बोलाएका थिए । सिंहदरबारमा भएको छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नैपर्ने अडान कायमै राखेकाे छ ।
सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेपछि आज बोलाइएको संसद् बैठक पर्सीसम्म स्थगित गर्ने तयारी गरिएकाे छ ।
रास्वपाका सभापति रवि लामिछानेले सदन सुचारु गर्ने विषयमा कुराकानी भए पनि एमाले अध्यक्ष उपस्थित नभएकाले संसद्का प्रमुख दलका शीर्ष नेताको बैठक भोलि बस्ने र संसद् पर्सीसम्म स्थगित गर्ने तयारी भएको बताए ।
एमालेका प्रमुख सचेतक पदम गिरिले आफूहरुले राखेको माग पूरा नभएसम्म अवरोध कायमै रहने बताए । उनले नेपालको छबिमाथि प्रश्न उठेको बताउँदै यस विषयमा सरकार गम्भीर नभएको आरोप लगाए ।
यसअघि सभामुख देवराज घिमिरेले पनि प्रमुख सचेतकहरुसँग संसद्को गतिरोध अन्त्य गर्नेबारे छलफल गरेका थिए । तर त्यो छलफल विना निष्कर्ष टुंगिएको थियो ।
प्रतिक्रिया