काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्व उप-प्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी र पूर्वराज्यमन्त्री सञ्जय साहसँग बयान लिएको छ । सोमबार साँझ अनुसन्धान अधिकृतहरुले महाराजगञ्जस्थित सिआईबीमा बयान लिएका हुन् ।
पूर्व उप–प्रधानमन्त्री गच्छदार, पूर्वमन्त्री जोशी र पूर्व राज्यमन्त्री साहविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । तर, प्रहरीले गच्छदार र जोशीलाई बयान लिएर छाडेको छ । सोमबार नै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिए पनि जोशी र गच्छेदारको बयान गराउँदा ढिला भएको सिआईबीका अधिकारीहरु बताउँछन् ।
भौतिक योजना तथा निर्माण मन्त्री हुँदा गच्छदार जग्गा हिनामिना प्रकरणमा संलग्न देखिएका थिए । गच्छदारसँगै राज्यमन्त्री थिए, संजय शाह ‘टकला’ । २०७६ पुसमा सिआईबीले गृह मन्त्रालयमा बुझाएको छानविन प्रतिवेदनले ‘सरकारी लिखत किर्ते’ मुद्दामा उनिहरुलाई कारवाहिको सिफारिस गरेको थियो ।
२०६७ असार २८ मा भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव दीप बस्न्यातले टिप्पणी सदर गरी मन्त्री गच्छदार कहाँ पेश गरेका हुन् । सो प्रस्ताव राज्यमन्त्री संजय शाह र उप–प्रधानमन्त्री गच्छदारले सदर गरेर मन्त्रिपरिषद्मा लगेका थिए ।
यही प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्वमन्त्री डम्बर श्रेष्ठ र तत्कालीन सहसचिव नारायण गोपाल मलेगो लगायतका कर्मचारी भने फरार रहेको सीआईबी स्रोतले बतायो ।
प्रतिक्रिया