गृहमन्त्रीलाई ओलीको प्रश्न : टार र कोट भन्या के हो ?

गृहमन्त्रीलाई ओलीको प्रश्न : टार र कोट भन्या के हो ?



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबारको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि खनिएका छन् ।

गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिनमा ‘कोट पनि छोडिन्न टार पनि छोडिन्न’ भन्ने अभिव्यक्ति दिएका थिए । सो विषयलाई लिएर ओलीले आक्रोश व्यक्त गरे ।

“गृहमन्त्रीले गर्न खोजेको के हो ? कोट नि छोडिन्न टार पनि छोडिन्न भनेको के हो ? गृहमन्त्रीको हैसियतबाट यस्तो भन्न मिल्छ ? कि प्रमाणित गर्नुहोस् नभए जे मन लाग्यो त्यही बोल्न मिल्छ ? भन्दै ओलीले आक्रोश पोख्नु भयो,” बैठकमा सहभागी एक नेताले भने ।

जवाफमा गृहमन्त्री श्रेष्ठले आफूलाई पत्रकारहरुले प्रश्न गरेपछि त्यसको जवाफमात्र दिएको भन्दै स्पष्टीकरण दिए । उनले भने, “मलाई राजनीतिक हस्तक्षेप भयो भने के गर्नुहुन्छ भनेर पत्रकारले गरेको प्रश्नमा भनेको हो । बालुवाटार वा बालकोटबाट दबाव आए पनि छानबिन रोकिन्न भनेको हुँ । नियोजित भनेको हैन ।”

सोमबार बसेको बैठकले नै एमालेको माग बमोजिम उच्चस्तरीय छानबिन समिति बनाउने र सदन चलाउने सहमति गरेको छ । आज तीन घण्टासम्म चलेको बैठकले सीआईबीले प्रतिवेदन बुझाएपछि समिति निर्माण गर्ने सहमति भएको छ ।