संसदीय समिति सभापति निर्वाचन भदौ ११ गते

संसदीय समिति सभापति निर्वाचन भदौ ११ गते



काठमाडौं । संसदीय समिति सभापति निर्वाचन कार्यक्रम तोकिएकाे छ । बिहीबार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको मुख्य चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकले ११ भदौमा १० वटै विषयगत समितिका सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो ।

यसका लागि १० भदौदेखि नै प्रक्रिया प्रारम्भ हुनेछ । यसबारे बिहीबार नै सूचना प्रकाशित गर्ने तयारी गरिएको छ ।

बैठकमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, एमालेका सचेतक महेश बर्तौला, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र प्रतिनिधिसभाका महासचिव भरतराज गौतमको उपस्थिति थियो ।

संसद बैठक बस्न थालेको ५ महिनामा संसदीय समिति गठन भएपनि सभापति चयन नगरी जेष्ठ सदस्यको अध्यक्षतामा बैठक सञ्चालन गरिँदै आइएको थियो । प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति रहेका छन् भने राष्ट्रियसभाका सदस्यहरुको प्रतिनिधित्व सहित २ वटा संयुक्त समिति रहेका छन् ।

दलहरूबीचको सहमतिअनुसार कांग्रेसले ४, एमालेले ३, माओवादी केन्द्रले २, एकीकृत समाजवादी, जसपा र जनमतले १-१ वटा समितिको सभापति लिने भएका छन् ।

संसद्को चौथो ठूलो दल रास्वपा र पाँचौं ठूलो दल राप्रपालाई भने संसदीय समिति सभापति दिइएको छैन । कांग्रेसले अर्थ समिति, संसदीय सुनुवाई समिति, राज्य व्यवस्था तथा सुशासन समिति र कृषि तथा प्राकृतिक स्रोत समितिको नेतृत्व गर्ने भएको छ । यस्तै एमालेले लेखा समिति, महिला तथा सामाजिक मामिला समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको नेतृत्व गर्ने छ ।

माओवादी केन्द्रले पूर्वाधार विकास समिति र कानुन, न्याय तथा मानव अधिकार समिति तथा नेकपा एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, जनता समाजवादी पार्टीले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र जनमत पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको नेतृत्व गर्ने भएको छ ।