एनआरएन उपमहासचिवमा कृष्ण गिरीको उम्मेदवारी घोषणा

एनआरएन उपमहासचिवमा कृष्ण गिरीको उम्मेदवारी घोषणा


ग्लोब नेपाल
1.2k
Shares

अष्ट्रेलिया। एनआरएनको आसन्न ११ औं महाधिवेशनमार्फत नेतृत्वका लागि आकांक्षीहरुको उम्मेदवारी घोषणा र प्रचार प्रसारको क्रम जारी रहेको छ। यसैक्रममा अष्ट्रेलियाबाट एनआरएन आईसीसीका पूर्व युवा संयोजक कृष्ण गिरीले उपमहासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

आफ्नो अनुभव,दक्षता र विज्ञतालाई एनआरएनको पदीय जिम्मेवारीमार्फत योगदान गर्न सकिने विश्वासका साथ नयाँ सोच र जोशसहित गिरीले उम्मेदवारी घोषणा गरेका हुन्। आफ्नो उम्मेदवारी घोषणा बारे गिरीले भनेका छन्,-‘अग्रज एवं साथीहरुको सल्लाह,सुझाव लिएर संस्थाको रुपान्तरणका लागि उम्मेदवारी दिने निष्कर्षमा पुगेको छु। ‘

गिरी नेपाली जनसम्पर्क समित,अष्ट्रेलियाका निवर्तमान सभापति हुन्। सन् २०११ देखि नै उनी एनआरएनको विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएका छन्। सन् २०१३ मा एनआरएनए आईसीसीको कार्यवाहक यूवा संयोजक भएर कार्य गरेका उनले प्रवासमा रहेका दोश्रो पुस्तलाई नेपाल र नेपालीसँग जोड्न गरेको “डलर १ कापी र कलम” परियोजनाले त्यसताका निक्कै चर्चासहित सफलता पनि पाएको थियो ।

गिरीले एनआरएनए एनसीसी अष्ट्रेलियाको कार्यसमिति सदस्य, सल्लाहकार, आईटी संयोजक, एनआरएनए आईसीसी सातौँ क्षेत्रीय सम्मेलनको सफल आयोजना, सिड्नी नेपाल फेस्टिभल आयोजना, एनआरएनए भवन निर्माण आर्थिक संकलन, सामाजिक कल्याण कोष स्थापना तथा आर्थिक संकलन लगायतका परियोजनामा विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन्।

हाल अन्तर्राष्ट्रिय झापाली समाजको सल्लाहकार रहेका गिरी झापाली समाज अष्ट्रेलियाको संस्थापक पनि हुन । बिद्यार्थी जीवनदेखि नै राजनीतिमा जोडिएका गिरी गैरआवासीय नेपाली संघ पूर्णरुपमा नेपाल सरकार, राजनीतिक दल र नेताहरुसंग मिलेर नेपालीका लागि नेपाली नारासहित कार्य गर्नुपर्ने बताउँछन्।

१० बर्ष भन्दा बढी नेपाली भिजन अष्ट्रेलियाको प्रकाशक एवं सम्पादक भएर कार्य गरेको अनुभब संगालेका गिरीमा डिजिट टेक्नोलोजि एवं आईटिमा समेत निपूर्णता रहेको छ । अष्ट्रेलियन राज्य सरकारको शिक्षा बिभागमा आईटी स्पेसलिष्टका रुपमा कार्यरत गिरीले कोभिडका बेला प्रवासमा रहेका नेपाली समुदाय र अभियन्ताहरुलाई टेक्नोलोजीका माध्यमबाट जोड्न भुगोलले छेक्दैन भन्ने अभियानमा समेत काम गरेका थिए।