झिसमिसेको
भालेको डाक हुँ म
भुँईमा उज्यालो नखस्दै
घरभित्रको कसिंगारको दुश्मन-कुचो हुँ म
बिहानीपखको
एक कप मीठो चिया हुँ म
सुर्योदयसँगै
पोषणयुक्त खाजा हुँ म
अफिस/स्कुल समयको
भित्ते घडीको टिकटिक आवाज हुँ म
मधुमेह रोगी
बाबाको दबाई हुँ म
प्यारलाइसिसग्रस्त
आमाको लौरो हुँ म
जवानीमा प्रवेश गर्दै गरेको नन्दको
आत्मीय साथी हुँ म
घरभित्र
सबैको ममतामयी आमा हुँ म
छरछिमेक, नातागोताको आँखा मा
असल र कुशल बुहारी हुँ म
घरको ढिकुटीको
सह हुँ म
घरको ढोकाको
चाबी हुँ म
घरको
इज्जत हुँ म
करेसाबारीको
शोभा हुँ म
आगानको
सिमाना हुँ म
परिवारको
मुटु हुँ म
तर
सबै सबै भएर पनि
मेरो लागि चाहिँ
के हुँ म ?
प्रतिक्रिया