काठमाडौं । अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) का उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणमा आज अपराह्न नेपाल आउँदैछन् । एमसीसीको कम्प्याक्ट अपरेसन विभाग प्रमुख आज अर्थ मन्त्रालयमा एमसीसी कार्यान्वयनको औपचारिक कार्यक्रममा सहभागी हुन काठमाडौं आइपुग्ने कार्यक्रम छ । क्यामरनको भ्रमणलगत्तै अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भान होलेन पनि सेप्टेम्बरको पहिलो हप्ता नेपाल आउने कार्यक्रम तय भइसकेको छ ।
उनले अमेरिकी सहयोगमा सञ्चालित एमसीसी, अरु अमेरिकी सहयोगका परियोजना र स्थानीय सांस्कृतिक महत्त्वका क्षेत्रमा भ्रमण गर्ने जनाइएको छ । क्यामरनले नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख राजनीतिक दलका नेताहरुलाई भेटघाट गर्ने कार्यक्रम छ । उनी भदौ १५ मा फर्किने छन् । एमसीए नेपालका मिडिया संयोजक पुष्कर माथेमाले औपचारिक कार्यक्रम मार्फत् एमसीसी कार्यान्वयनमा जाने बताए ।
सो समारोहसँगै एमसीसी कार्यावन्यनको पाँच वर्षे अवधि सुरु हुनेछ । यदि सहमतिअनुसार समयमा एमसीसी परियोजना सम्पन्न नभएमा त्यसको सम्पूर्ण खर्च नेपाल सरकारले बेर्होनुपर्नेछ ।
एमसीसी सम्झौताअनुसार अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अर्थात् करिब ६० अर्ब रुपैयाँ अनुदान दिनेछ । नेपालले पनि एमसीसी परियोजनाको लागि आफ्नो तर्फबाट १३ करोड डलर अर्थात् करिब १७ अर्ब लगानी गर्नुपर्ने सम्झौता छ ।
नेपाल र अमेरिकाबीच पाँच वर्षअघि एमसीसी कम्प्याक्टको एमओयूमा हस्ताक्षर भएको थियो । लामो समय विवादमा फसेको एमसीसी नेपाली संसदले अनुमोदन गरेको १८ महिनापछि कार्यान्वयनमा जान लागेको छ । तत्कालीन सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी २०७६ असार ३० गते अनुमोदनका लागि संसदमा दर्ता गरेको थियो । २०७८ फागुन ८ गते टेबल भएको सम्झौता फागुन १५ गते संसदबाट अनुमोदन भयो ।
एमसीसी परियोजना कार्यान्वयनमा जानुअघि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु गत जुलाईको दोस्रो साता नेपाल आएका थिए । त्यसैगरी यसअघि एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले २०७८ को भदौमा नेपाल भ्रमण गरी संसदबाट एमसीसी जतिसक्दो चाँडो संसदबाट अनुमोदन गर्न नेपाली नेताहरुलाई दबाब दिएकी थिइन् ।
सिनेटर होलेनले पनि नेपालमा रहँदा सरकारी अधिकारी, युवा नेता, सांसद, नागरिक समाजका प्रतिनिधि, गैरनाफामूलक संस्थाका प्रतिनिधि र व्यवसायीलगायतसँग भेट गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया