काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न चीन भ्रमणका कार्यक्रममा यसअघि भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिइने जानकारी दिएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उनले आफ्नो चीन भ्रमणमा सहमति सम्झौता कार्यान्वयनमा जोड दिने बताएका हुन् ।
साथै, सीमानाका खुलादेखि दुई देशबीचको आपसी हित र चासो तथा द्विपक्षीय व्यापार लगायतका विषयमा कुराकानी हुने जानकारी दिए ।
प्रधानमन्त्री दाहालले अब मेलम्ची खानेपानीको वितरण सहज हुने बताएका छन् । प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा उनले मनसुन रोकिएको डेढ महिना पश्चात् मेलम्ची खानेपानीको वितरण सहज हुने जानकारी दिएका हुन् ।
साउन महिनाको बाढीले मेलम्ची खानेपानीको हेडकवर्कस बगाएको र मेलम्ची बजारदेखि उक्त स्थानसम्म मुग्ने मार्गमा अवरोध भएको प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री दाहालले देशको अर्थतन्त्र लयमा फर्किंदै गएको बताएका छन् । उनले विभिन्न आर्थिक सूचाकांक पेस गर्दै देशको अर्थतन्त्र लयमा फर्किएको दाबी गरेका हुन् ।
अर्थतन्त्रमा देखिएका समस्या विस्तारै समाधान हुँदै गएको दाबी गर्दै देशको रेमिट्यान्स बढेर गत असार मसान्तसमम १२ खर्ब २० अर्ब ५६ करोड पुगेको जानकारी दिए । १० महिनालाई आयात धान्ने सञ्चित रकम रहेको प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री दाहालले आफ्नो पहिचानको कुरा गर्दा अरुको पहिचान र आस्थामा खलल पुर्याउन नपाइने जानकारी दिएका छन् ।
प्रतिनिधिसभा बैठकमा उनले कसैको पहिचान र आस्थामा खलल पुर्याउन नपाइने कानुनी व्यवस्था रहेको स्मरण गराए । यदी कानुनविपरीत गतिविधिलाई राज्यले स्वीकार्न नसकिने भन्दै उनले संविधान र कानुनविपरीतका गतिविधि नगर्न आग्रह गरे ।
प्रतिक्रिया