पाल्पा । गुल्मीको सदरमुकाम तम्घास अस्पतालमा उपचाररत बालिकाको मृत्युसम्बन्धमा छानबिनको माग गर्दै आन्दोलनमा उत्रिएका दुई युवा जलेर घाइते भएका छन् । आन्दोलनमा उत्रिएको पीडित पक्षले प्रशासन कार्यालय अगाडि नाराबाजी र टायर बाल्ने क्रममा पेट्रोल शरीरमा लागेपछि अर्घाखाँची छत्रदेव गाउँपालिका–६ र ७ का लक्ष्मण पाण्डे र कृष्ण पौडेल जलेर घाइते भएको प्रहरीले जनाएको छ ।
एक्कासी पेट्रोल खनाएर बाल्ने क्रममा पाण्डे र पौडेलको शरीरमा परेर आगो लाग्दा घाइते भएका हुन् । उनीहरुलाई तम्घासमा सामान्य उपचार गरी थप उपचारका लागि पाल्पा पठाइएको छ । उनीहरुको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । गुल्मी प्रहरीले आन्दोलन गर्दै आएकाहरुलाई सडकमा टायर नबाल्न आग्रह गरेको थियो । ‘हामीले आन्दोलनरत पक्षलाई टायर नबाल्न आग्रह गरेका थियौं’ गुल्मी प्रहरीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले भने ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७, काउलेकी ६ वर्षीया बालिका प्रशंसा मरासिनीको मंगलबार बिहान उपचारका क्रममा गुल्मी अस्पतालमा मृत्यु भएपछि तनाव बढेको हो । अस्पतालको लापरबाहीले बालिकाको मृत्यु भएको भन्दै बालिकाका आफन्तसहितले मंगलबार बिहानैदेखि प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया