बाबर र इफ्तिकारकाे शतकमा नेपालसामु ३ सय ४३ रनको लक्ष्य

बाबर र इफ्तिकारकाे शतकमा नेपालसामु ३ सय ४३ रनको लक्ष्य



काठमाडौं । कप्तान बाबर आजम र इफ्तिकार अहमदको शानदार शतकको मद्दतले पाकिस्तानले नेपालसामु ३ सय ४३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । मुल्तानमा भएको एसिया कपको उद्घाटना खेलमा पाकिस्तानले ६ विकेटको क्षतिमा ३ सय ४२ रन बनाएको हो ।

अन्तिम ओभरमा सोमपाल कामीको बलमा क्याचआउट हुन अघि कप्तान आजमले उत्कृष्ट ब्याटिङको नमूना प्रदर्शन गर्दै १३१ बलमा १५१ रन बनाए । उनले यस क्रममा १४ चौका र ४ छक्का हिर्काए । कुनै पनि पाकिस्तानी कप्तानले घरेलु मैदानमा बनाएको यो सबैभन्दा ठुलो व्यक्तिगत स्कोर हो ।

त्यस्तै इफ्तिकार अहमदले पनि शतकीय पारी खेले । उनले नटआउट रहँदै १०९ रन बनाए ।

नेपालले खेलमा सुरुवात भने राम्रो गरेको थियो । नेपालले दुवै ओपनरलाई सस्तोमा आउट गरेपछि घरेलु टोली दबाबमा परेको थियो । फखर जमान १४ रन बनाएर करन केसीको शिकार बने भने इमाम उल हक ५ रन बनाएर रनआउट भए ।

त्यसपछि कप्तान बाबरले मोहमद रिजवानसँग मिलेर पाकिस्तानको पारी सम्हालेका थिए । रिजवान ४४ बनाएर आउट हुँदा टीमको स्कोर १११ रन रहेको थियो । लगत्तै आघा सलमान ५ रन बनाएर सन्दीप लामिछानेको बलमा आउट भए ।

नेपालका लागि सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र करन केसीले १–१ विकेट लिए । ललित राजवंशीले विकेट लिन नसके पनि १० ओभर बलिङ गर्दै मात्र ४८ रन खर्चिए ।

एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण बुधबारदेखि सुरु भएको छ । एसिया कपका खेलहरु सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकाका विभिन्न रंगशालामा खेलिनेछ ।

एसिया कपमा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको हो । एकदिवसीय विश्वकपको पूर्व विजेतासमेत रहेको पाकिस्तानले हालसम्म दुई पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ ।