‘हावा’मा आलुको बिउ उत्पादन

‘हावा’मा आलुको बिउ उत्पादन



पनौती । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीस्थित खाद्यान्न तथा बिउ आलु, अलैँची, फलफूल नर्सरी उद्योगले नयाँ प्रविधिद्वारा ‘हावा’मा आलुको बिउ उत्पादन थालेको छ ।

धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको आर्थिक सहयोगमा नयाँ प्रविधि ‘एरोपोनिक’ अर्थात् हावामा बिउ उत्पादन थालिएको हो ।

उक्त उद्योगले यसअघि माटोमा विभिन्न जातका आलुको बिउ उत्पादन गर्दै आएको थियो । ‘यस प्रविधिअन्तर्गत खाली बोतलमा मसिना बिरुवा उमारिन्छ । यसका लागि आवश्यक मलजल तथा अक्सिजन मेसिनबाट नै पठाइन्छ’, उद्योगका सञ्चालक शशि अधिकारीले भने । उनका अनुसार ४० दिनमा ती बिरुवाको जरामा झुप्पा बनी बिउ बन्दछन् ।

एक बिरुवामा ५० देखि चार सयसम्म बिउ उत्पादन हुने अधिकारीले जानकारी दिए । उनका अनुसार उक्त प्रकृतिको बिउ उत्पादन गर्न उद्योगमा १ करोडमा छुट्टै प्रयोगशाला निर्माण गरिएको छ । नयाँ प्रविधि भएकाले अन्य जातका आलुको तुलनामा उत्पादनको परिमाणबारे यकीन गर्न नसकिएको उनको भनाइ थियो ।

‘यसरी उत्पादन गरिएको बिउलाई परीक्षणका लागि निर्माण गरिएको टनेलमा करिब पाँच पटक (पाँच पुस्ता) सम्म रोपेर मात्रै कृषकलाई खेतबारीमा रोप्न पठाउने गरिन्छ’, अधिकारीले भने । उनका अनुसार गत साउनदेखि उक्त नौलो प्रविधिबाट आलुको बिउ उत्पादन प्रक्रिया थालिएको हो ।

यो प्रविधि नेपालमै नयाँ भएकाले यसप्रति कृषि प्राविधिकको चासो बढेको उद्योगका अर्का सञ्चालक राजेन्द्र थापाले बताए । उनका अनुसार उद्योगका प्राविधिकले नयाँका साथै पुरानै जातका आलुको नयाँ प्रविधिबाट बिउ उत्पादन गर्न थालेका छन् ।

उक्त उद्योगमा आलुको बिउ उत्पादनमा नयाँ प्रविधि ल्याइएपछि हाल कृषक, कृषि प्राविधिक तथा बिउ व्यवसायी अवलोकनका लागि आउने गरेका थापाले जानकारी दिए । उनका अनुसार उद्योगमा सिँचाइका लागि गत आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ११ लाख ५४ हजार रकम विनियोजनसमेत गरिएको थियो ।