एमाले अध्यक्ष ओली र अमेरिकी सिनेटर होलेनबीच भेट

एमाले अध्यक्ष ओली र अमेरिकी सिनेटर होलेनबीच भेट



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच आइतबार भेट भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता ओली र अमेरिकी सिनेटर होलेनबीच एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भेट भएको हो ।

भेटमा दुई पक्षीय हित प्रवर्द्धन, कार्यान्वयनमा गएको अमेरिकी सहायता परियोजना एमसिसी, शान्ति प्रक्रियाका बाँकी कामका सन्दर्भमा कुराकानी भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

भेटमा अमेरिकी सिनेटर होलेनले एमसिसी पारित गरेर कार्यान्वयनमा लगेकोमा खुसी व्यक्त गरेका थिए । त्यस्तै होलनेले ‘शान्ति प्रक्रिया अब टुंगिन्छ नि ?’ भन्दै चासो राखेको उनले बताए ।

जवाफमा अध्यक्ष ओलीले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन कानुन निर्माणको काम भइरहेको अवगत गराएका थिए । अध्यक्ष ओलीले अन्तर्राष्ट्रिय कानुन, मानवअधिकारको विश्व्यापी मान्यताअनुरूप पीडितमैत्री हुने गरी ऐन तर्जुमा गर्ने र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने बताएका थिए।

भेटमा एमालेका तर्फबाट दलका उपनेता नेम्वाङ, उमहासचिव विष्णु रिमाल र अमेरिकी दूतावासका अधिकारीहरू पनि सहभागी थिए ।