काठमाडौं । शुक्रबार बिहान सम्पन्न विश्वकप छनाेट अन्तर्गतकाे भएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १–० ले पराजित गरेको छ । खेलको ७७ औँ मिनेटमा लियोनेल मेस्सीले फ्रिकिकमा आकर्षक तथा चिरपरितित गोल गरेका हुन् । सो गोल नै खेलको जितका लागि निर्णायक सावित भयो ।
अधिकांश समय अर्जेन्टिना खेलमा हाबी भए पनि अवसरहरू गोलमा परिणत हुन सकेनन् । अन्ततः ७७औँ मिनेटमा फ्रिकिकको अवसर पाउँदा मेस्सीले त्यो क्षणलाई गोलमा परिणत गरिदिए ।
गोलसँगै दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनाेट खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडीको शीर्ष सूचीमा उरुग्वेका लुईस स्वारेजसँगै मेस्सी पनि समावेश भएका छन् । उनीहरू दुवैले छनाेट खेलमा समान २९–२९ गोल गरेका छन् ।
जितसँगै अर्जेन्टिनी कप्तान मेस्सीले भनेका छन्, ‘हामीले राम्रो टोलीलाई हरायौँ जोसँग राम्रा खेलाडी र शारीरिक रूपमा बलिया खेलाडी छन् । यतिबेला जसले पनि अर्जेन्टिनालाई पहिलेभन्दा बढी पराजित गर्ने चाहना राख्छन् किनभने हामी विश्व च्याम्पियन हौँ । हामीलाई आराम गर्ने बहाना छैन, हामी झनै सुधार हुँदै जानुपर्छ ।’
मेस्सी थप भन्छन्,‘हाम्रो उद्देश्य विश्वकपमा फेरि छनाेट हुनु हो । हामीले जे प्राप्त गर्याैँ त्यसबाट हामी खुसी छौँ तर हामीले अब अझै अगाडिको सोच्नुपर्छ ।’
आजको गोलसँगै मेस्सीले देशका लागि १०४ गोल पनि पूरा गरेका छन् । एजेन्सी
प्रतिक्रिया