हेटौंडा । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राप्त उपलब्धिको रक्षाको लागि लाखौं जनता सडकमा उतार्ने जिकिर गरेका छन् ।
समाजवादी मोर्चाले आइतबार हेटौंडामा आयोजना गरेको सन्देश सभामा बोल्दै उनले संघीयता, गणतन्त्रमाथि प्रतिक्रियावादीहरूले प्रहार गरिरहेको भन्दै त्यसविरूद्ध जनता सडकमा उतार्ने जिकिर गरेका हुन् ।
‘प्रतिक्रियावादी शक्तिहरूले संघीयता, गणतन्त्रलाई होच्याउने गरिरहेका छन् । अपमानित गरिरहेका छन् । प्रहार गरिरहेका छन् । जनयुद्ध, जन आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न समाजवादी मोर्चा बनाएको हो’, उनले भने, ‘अहिले त हामीले कार्यक्रम कोठामा गरिरहेका छौं । केहि समयमा प्रतिक्रियावादीहरूको सातो जानेगरी सडकमा लाखौं जनता उतार्छौं ।’
‘सरकारले चालेको सुशासन अभियानबाट आत्तिएकाहरूबाट सुरुदेखि नै एक खालको दबाब महशुस गरिरहेको छु’, प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रधानमन्त्रीविरूद्ध अदालतमा मुद्दा दायर भएको छ । अभियानबाट समाजका एक तप्का आतंकित छन् । यो सामान्य कुरा होइन ।’
तर सरकारको अभियानमा माधव, विप्लव र जसपाको बलियो साथ रहेकाले आफूमा आत्मबल बढेको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि ‘निरंकुश राजनीतिक दलालले खुकुरी हानेको’ आरोप लगाएका छन् । उनले यो घटनाबाट सबै सचेत हुनुपर्नेमा जोड दिए ।
“निरंकुश राजतन्त्रका दलालहरूले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुकुरी हानेको घटना सामान्य होइन । यसबाट तपाईं–हामी सचेत हुनैपर्छ,” उनले भने ।
केही समययता सामाजिक सञ्जालमा प्रतिक्रान्तिकारीको मनोबल बढेको उनले बताए । हेर्नै नसकिने चित्रहरू सामाजिक सञ्जालमा राखिएको उनले गुनासो गरे ।
“सोसल मिडियामा सुन्नै नसकिने, चित्र हेर्यो भने हेर्नै नसकिने, लाजैमर्दो हेर्न परिराखेको छ,” उनले भने, “किनकि, हामी कमजोर देखिएपछि कसरी प्रतिक्रान्तिकारीहरूको मनोबल हुँदो रहेछ ।”
प्रधानमन्त्री प्रचण्डले नेपालमा अब सबै कम्युनिष्ट शक्ति एक भएर समाजवाद निर्माण गर्नुपर्ने बताएका छन् । गणतन्त्रलाई जनताको गणतन्त्र बनाउन सबै कम्युनिष्ट बीचको एकतामा उनले जोड दिए ।
‘हामी सबै कम्युनिष्टले पटकपटक फुट्दा कति समस्या हुन्छ भन्ने बुझिसक्यौं । अब एक-अर्कालाई तिरस्कार, वहिष्कार नभई सत्कार गरेर कम्युनिष्ट एकता गर्नुपर्छ’, प्रचण्डको भनाइ थियो ।
फुट्दा र जुट्दाको दुवै अनुभवलाई लिएर अब नयाँ क्रान्ति सुरू गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया