इँटको जवाफ पत्थरले दिने हो : प्रचण्ड

इँटको जवाफ पत्थरले दिने हो : प्रचण्ड

लाखौं जनतालाई सडकमा ल्याउने हो अनि हाम्रो जित हुन्छ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इँटको जवाफ पत्थरले दिन समाजवादी मोर्चाका कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मोर्चाले सोमबार विराटनगरमा गरेको सन्देश सभामा प्रचण्डले गणतन्त्र ल्याउनेहरु रक्षात्मक र गाली गरेको भरमा आएकाहरु पार्टी हुने जस्तो विडम्बना देखिएको बताए ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले हावाहुरीबाट गाली गरेर आएकाहरू पार्टी जस्तो देखिएको बताएका छन् । सामाजिक सञ्जालमा प्रचार गर्नेहरु चाहिं राजनीतिज्ञ जस्तो, अनि जिन्दगीभर जेलनेल, भूमिगत, त्याग गरेर देशमा गणतन्त्र ल्याउनेहरु रक्षात्मक, अलिकति डराए जस्तो देखिएको उनले बताए । उनले अघि भने, ‘नाम त के लिनु र मैले । निरंकुशताका दलालहरु…, जसको चरित्र गुण्डाको भन्दा फरक छैन ।’

उनीहरुमध्येकै एकले नेपाली कांग्रेसको सहमहामन्त्रीमाथि खुकुरी प्रहार गरेको प्रधानमन्त्रीले बताए । ‘भनेपछि उनीहरुको मनोबल कस्तो रहेछ, तपाईं हामी चाहिं बडो रक्षात्मक’ उनले भने, ‘त्यस्तो होइन अब । अब यो समाजवादी मोर्चाले जहाँ बदमासी हुन्छ, गालीगलौज हुन्छ, त्यो इँटको जवाफ पत्थरले दिने हो । दिनैपर्‍यो ।’

प्रधानमन्त्री प्रचण्डले भने, ‘लाखौं जनतालाई सडकमा ल्याउने हो र यी गुण्डा, प्रतिक्रान्तिकारी, दलालहरुलाई हामी जिउँदैछौं भन्ने देखाउन पर्‍यो । अनि मात्र हाम्रो जित हुन्छ ।’

उनले आफूले केही नयाँ गर्न खोजेको बताएका छन् । लाइसेन्स, नागरिकता, सामाजिक न्यायको क्षेत्रमा विदेशमा रहेका मजदुरहरू सामाजिक सुरक्षामा आबद्ध गर्ने, देशका अनौपचारिक क्षेत्रका श्रमिक लक्षित कार्यक्रम ल्याउन लागिएको बताउँदै उनले यो समाजवादको भ्रूण भएको दाबी गरे । मिटर ब्याज अन्त्य गर्न कानुन बनाएको, नागरिकताविहीनलाई नागरिकता बाँडिएको, भ्रष्टाचार र बेथितिको अन्त्य गर्न नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन तस्करी अन्त्यको लागि लागेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा भनेकै पार्टी एकताको आधार बनाउनलाई बनाइएको हो । विप्लवले नेतृत्व गरेको नेकपा पनि मोर्चामा सहभागी हुनुको ठुलो महत्त्व रहेको प्रचण्डले बताए । विगतमा उपेन्द्र यादव, बाबुराम, विप्लवसँगै रहेको स्मरण गर्दै अब नयाँ आधारमा नयाँ एकता हुने बताउँदै प्रचण्डले यसको ठुलो महत्त्व रहेको पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारविरूद्ध षड्यन्त्र सुरू भएको दाबी गर्दै सरकार कतिन्जेल टिक्छ भन्ने कुराको कुनै चिन्ता नभएको बताएका छन् । सरकारले समाजवादको आधार तयार पार्न गम्भीरतापूर्वक लागेको र भ्रष्टाचारविरूद्ध कठोर बनेर पेश हुँदा कुशासनका पक्षधरहरू षड्यन्त्रमा लागेको दाहालको भनाइ छ ।