कोलम्बो । एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको भिडन्तमा भारतले पाकिस्तानलाई ३५७ रनको विशाल लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको जिम्मा पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३५६ रन जोड्यो । भारतका विराट कोहली र केएल राहुलले सतक बनाए । उनीहरुले दोस्रो विकेटका लागि २३३ रनको साझेदारी गरेका छन् । राहुलले १०६ बलमा १ सय ११ रन बनाए । उनले १२ चौका र दुई छक्का हिर्काए ।
कोहलीले ९४ बल १ सय २२ रनको शानदार पारी खेले । उनले ९ चौका र ३ छक्का हिर्काए । कोहलीको यो ४७ औँ एकदिवसीय शतक थियो । उनले कूल ७७ शतक बनाइसकेका छन् ।
त्यस्तै, कोहली एकदिवसीय खेलमा १३ हजार रन पुरा गर्ने पाँचौँ खेलाडी पनि बनेका छन् । इनिङका हिसाबले उनले सबैभन्दा चाँडो यो उपलब्धि हासिल गर्न सफल भएका हुन् ।
ह्यारिस राउफ घाइते भएपछि पाकिस्तान सोमबारको खेलमा सुरुदेखि दबाबमा परेको थियो । टोलीका लागि शाहीन शाह अफ्रिदी र शहदाब खानले मात्र १–१ विकेट लिए ।
यसअघि आइतबारको खेलमा कप्तान रोहित शर्मा र शुभमन गिलले शतकीय साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुवात गरेका थिए । १२१ रनको सीमितमा शर्मा ५६ रन बनाउँदै शहदाब खानको बलमा आउट भए भने गिल पनि लगत्तै शाहीन शाह अफ्रिदीको शिकार बने । आउट हुन अघि उनले ५८ रन बनाए ।
प्रतिक्रिया