एनआरएन उप महासचिवमा सापकोटाको उमेद्वारी घोषणा

एनआरएन उप महासचिवमा सापकोटाको उमेद्वारी घोषणा


ग्लोब नेपाल
459
Shares

काठमाडौं। गैर आवासीय नेपाली संघ,अन्तर्राष्ट्रीय समन्वय परिषद्को आगामी कार्यकालको लागि वर्तमान प्रवक्ता सोम सापकोटाले उप महासचिव पदमा उमेद्वारी घोषणा गरेका छन्। उनी अध्यक्षका उमेद्वार महेश श्रेष्ठको समूहबाट चुनावी मैदानमा उत्रिएका हुन्। एनआरएनलाई सबैको साझा बनाउन आफुले उप-महासचिव पदमा उमेद्वारी घोषणा गरेको सापकोटाको भनाई छ।

एनआरएनको ११ औं विश्व सम्मेलन असोज ३० देखि कार्तिक ३ गतेसम्म राजधानीमा सम्पन्न हुँदैछ। सम्मेलनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ। यो सम्मेलनमा विश्वका ६० भन्दा बढी देशका करीब चार हजार गैर आवासीय नेपाली प्रतिनिधिहरुले भाग लिनेछन्।

सङ्घको स्थापनाकालदेखिनै सक्रिय सापकोटाले विभिन्न पदीय जिम्मेवारीमा रहेर काम गर्दै आएका छन्। गैरआवासीय नेपाली सङ्घको माध्यमबाट ईलाइब्रेरी स्थापना, पर्यटन प्रवर्द्धन, बैदेशिक रोजगार साथै लगानीमार्फत रोजगारी लगायतमा सापकोटाले भूमिका खेलेका छन्। सापकोटाको विद्युतीय पुस्तकालय अभियान अहिले पनि छ ।

सन् २००६ मा गैर आवासीय नेपाली संघ पोर्तुगलको सदस्य हुँदै २००८ मा डेनमार्कको समेत अध्यक्ष बनेका सापकोटा संस्थागत परदार्शीतामा जोड दिन्छन्। संस्थाले सोचे अनुरुप काम गर्न नसकेको ठहर गर्ने सापकोटा नेपाली संस्कृति र नेपाली रैथाने खानेकुरालाई विदेशमा प्राथमिकतामा राख्नुपर्ने बताउँछन् ।

नेपालमा आउने पर्यटकको बसाइ बढाएर दैनिक गर्ने खर्च पनि बढाउने किसिमको योजना छ सापकोटाको । सापकोटाको योजनामा नेपाली सेलरोटी लगायत रैथाने खानालाई बिदेशी सामू परिचय गराउने पनि रहेको छ । यसका अलावा नेपालको बारेमा छरिएका भ्रमलाई चिर्न संस्था र सरकारले सहकार्य गर्नुपर्ने एजेण्डा उनको छ ।

‘नेपाली मूलका नागरिक भएका देशका बिद्यार्थीका लागि भीषा प्रक्रियामा सहजता भएमा उनीहरुको नेपालप्रतिको मोह बढाउन सकिन्छ’ सापकोटा भन्छन्। विगतमा भएका कमजोरी सच्याएर सबै नेपालीबीच भाइचारा सम्बन्ध विस्तार गर्नुपर्ने सापकोटाको भनाई छ।

सापकोटा सन् २०११–२०१३ सम्म गैरआबासीय नेपाली सङ्घको केन्द्रीय सदस्य, सन् २०१५–२०१७ यूरोपको उपसंयोजक र सन् २०१७–२०१९ मा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्य परिषदको सहकोषाध्यक्षमा निर्वाचित भएर काम गरिसकेका व्यक्ति हुन्। । यसैगरी सन् २०१९–२०२१ मा केन्द्रीय सल्लाहकार भएका सापकोटा हाल सङ्घको प्रवक्ता छन्। सापकोटाले उमेद्वारी घोषणा गरेको उप महासचिव पदमा विश्वभरबाट दुई जना निर्वाचित हुनेछन् ।