विश्वम्भरपुरमा उपद्रो गर्ने समूह नियन्त्रण गर्न प्रहरी असफल

विश्वम्भरपुरमा उपद्रो गर्ने समूह नियन्त्रण गर्न प्रहरी असफल


ग्लोब नेपाल
1k
Shares

बारा । बाराको कलैया उपमहानगरपालिका–११ विश्वम्भरपुरस्थित बिल्लुवा भूमि वन प्रा.लि. मा उपद्रो गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । प्रा.लि.को जग्गा मिच्ने र पक्की पर्खाल रातारात भत्काएर एउटा समूहले त्यहाँ उपद्रो मच्चाइरहेको छ । यो समूहका एकजना सदस्य मात्र पक्राउ परेका छन् भने बाँकी फरार रहेका छन् ।

लामो समयदेखि प्रा.लि.ले भोग चलन गर्दै आएको उक्त जग्गामा लगाइएको बोटविरुवामा समेत क्षति पुर्‍याउँदै आएको उक्त समूहले बाली संरक्षण गर्न लगाइएको पक्की पर्खालसमेत भत्काइदिएको बल्लुवा भूमि वन प्रा.लिका व्यवस्थापक अशोककुमार पाण्डेले बताए ।

उपद्रो समूहको हस्तक्षेपका बाबजुद पक्की पर्खालको निर्माण गरिएको थियो, पाण्डेले भने, ‘ती समूहले सुरुमा पर्खाल निर्माणमा खटिने श्रमिकलाई पनि धम्काएर अवरोध पुर्‍याए । पाँच लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको पर्खाल सम्पन्न भएकै रात ति समूहले बल मिच्याइ गरी पर्खाल भत्काइ दिए र निर्मण सामाग्री समेत लुटेर लगे ।’

बारा जिल्ला अदालतले निषेधाज्ञा जारी गरे पनि उपद्रो मच्चाउने समूहले निर्माण कार्य हुन नदिएपछि अदालतको आदेश कार्यान्वयन गराउन जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी खटिएको थियो ।

प्रहरीको निगरानी तथा उपस्थितिमा निर्माण भएको पक्की पर्खाल उपद्रो मच्चाउने समूहले भत्काएर अदालतको आदेशको अवहेलना मात्र गरिएको छैन, कानुन कार्यान्वयन गराउन प्रहरी प्रशासनलाई समेत चुनौति दिएको भिल्लुवा भूमि वन प्रा.लि.का कर्मचारी रकीप्रसाद यादवले बताए ।

हाम्रो कुरा त टेर्दैटेर्दैन, प्रहरी र अदालतको आदेश पनि मानेन उनले भने, ‘तलब भत्ता खाएपछि प्रालिको सम्पत्तिको संरक्षण गर्ने मेरो जिम्मेवारी हो । तर, जागीरसहित ज्यान जोगाउनसमेत धौ-धौ परेको छ । ती समूहले मेरो घर परिवारमा आएर ज्यान मार्ने, गाउँबाट निकाला गरिदिने जस्ता धम्की दिएका छन् ।’

ती समूहले प्रा.लि.को जग्गा हड्प्ने मनसायले प्रा.लि.का व्यवस्थापक तथा कर्मचारीलाई दुःख दिँदै आएको उनले बताए । प्रहरी प्रशासन समेतलाई अटेरी गर्ने समूहलाई कानुनी कारबाही नहुँदा उनीहरुको मनोबल बढ्दै गएको यादवको भनाइ छ ।

उनका अनुसार कलैया उपमहानगरपालिकाले पक्की पर्खाल निर्माण गर्न नक्सा पास गरी निर्माण कार्य गराउन अनुमति दिए पनि उपद्रो मच्चाउने समूहका अगुवा स्थानीय मकसुद मिया र जितेन्द्र यादवले स्थानीयलाई उचालेर तनाव सिर्जना गरेका छन् ।

त्यहाँ जग्गाबाट भाग दिलाइ दिने प्रलोभन देखाइ उनीहरुले स्थानीय वीरेन्द्रप्रसाद यादव, रामेश्वर मण्डल, सीताराम यादव भन्ने टइट, नन्दकिशोरप्रसाद यादव, राजीवकुमार यादव, विन्देश्वरी मली समेतलाई उचालेर भदौ २५ गते राति करिब १० बजे पर्खाल भत्काएको प्रा.लिले जनाएको छ ।

पर्खाल भत्काइरहेकै अवस्थामा कर्मचारी रकी यादवले खबर पाइ प्रहरीलाई सूचना दिएपछि बसपार्क प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीलाई देखेर तोडफोडमा संलग्न व्यक्ति भागेका थिए । तोडफोडमा संलग्न विन्देशवरी मलीलाई घटनास्थलबाटै प्रहरी टोलीले नियन्त्रण लिएको थियो भने बाँकी फरार रहेका छन् ।