एनएमबि बैंकको ‘डिजी स्टेशन’ सञ्चालनमा

एनएमबि बैंकको ‘डिजी स्टेशन’ सञ्चालनमा



काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्ने उदेश्यले अत्याधुनिक ‘डिजि स्टेशन’को सुरुवात गरेको छ ।

डिजि स्टेशन ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेशन हो । जसमा स्वचालित प्रणालीमा मानवीय सहायता बिना नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट, चेक स्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ, नगद निकासी र स्टेट्मेन्ट जेनरेट लगायतका काम सबै एकै ठाउँबाट गर्न सकिने बैंकले जनाएको छ ।

डिजि स्टेशनको सुरुवातले ग्राहकलाई बैंकले प्रदान गर्ने बैंकिङ सेवा, सुविधामा बृद्धि हुने विश्वास बैंकले लिएको छ। एनएमबि बैंकले आफ्ना ग्राहकको परिवर्तनशील बैंकिङ आवश्यकताहरू पूरा गर्न निरन्तर रूपमा लागिरहेको र आधुनिक प्रविधिमा बैंकिङ सुविधाहरू विकास गर्दै आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न समर्पित रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

बैंकले प्रथम चरणमा डिजि स्टेशनको शुरुवात एनएमबि भवन, बबरमहल शाखामा ४ वटा मेसिन जडान गरि संचालन गरेको छ। नगद डिपोजिट मेसिनमा ग्राहकले रू १ लाखभन्दा कम रकम बैंकको काउन्टर नपुगी आफैं खातामा रकमान्तर गर्न सक्ने र डिपोजिटको रसिद पनि सोहि मेसिनबाट प्राप्त गर्न सक्ने सुविधा रहेको छ।

त्यसैगरी, चेक डिपोजिट मेसिनमा ग्राहकले चेक स्टपदेखि नयाँ चेकको आवेदन र क्लियरिंङ चेकसमेत डिपोजिट गर्ने सुविधा रहेको छ । आफ्नो खाताको विवरण र अन्य जानकारी प्राप्त गर्न सकिने सुविधाका साथ डिजि स्टेशनमा ATM मेसिनको सुविधा हुँदा ग्राहकका अधिकांश बैंकिङ अवश्यकताहरु स्वचिलत ढंगले छिटो छरितो माध्यमबाट हुने सुविधा रहेको एनएमबि बैंकले जनाएको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ वटा शाखा, १४५ वटा एटिएम र १२ वटा एक्सटेन्सन काउन्टर मार्फत् उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।