इतर समूहलाई लक्षित गर्दै विश्वप्रकाशका तीन ट्विट

इतर समूहलाई लक्षित गर्दै विश्वप्रकाशका तीन ट्विट



काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पार्टीको इतर समूहले बोलाएको बैठकमा सहभागी भएनन् । महासमिति बैठकबाटै पार्टीको नीति, गति र मति उपर साझा दृष्टिकोण निर्माण हुनुपर्ने उनकाे भनाइ छ ।

शर्माले इतर समूहलाई आज घुमाउरो तरिकाले तीनवटा ट्विट लेख्दै आफ्नो धारणा प्रष्ट्याएका छन् । उनले पार्टी महामन्त्रीको जिम्मेवारीप्रति आफू सजग रहेको उल्लेख गरेका छन् ।

पहिलो ट्विटमा शर्माले महासमितिमार्फत कांग्रेसमाथि उठेका विभिन्न प्रश्नको जवाफ खोजिने बताएका छन् ।

उनले दोस्रो ट्विट लेखेका छन्, ‘तर, अहिलेको समय महासमितिबाट नीति, गति र मतिउपर साझा दृष्टि निर्माणको समय हो । यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने जरुरी विषयहरूप्रति सजग छु र रहनेछु ।’

तेस्रो ट्विटमा उनले दलहरूमा फरक विचार र विचार समूह हुनु स्वभाविक भएको पनि बताएका छन् ।

बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेता डा. शेखर कोइरालाले बोलाएको संस्थापन इतर पक्षको छुट्टै बैठक अहिले बसिरहेकाे छ । बैठकमा महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, मिनेन्द्र रिजाल, दिलेन्द्र बडू, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णप्रसाद नेपाली, दिनेश कोइरालालगायत कोइराला पक्षबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सहभागी छन् ।

कांग्रेसको केन्द्रीय समितिको बैठक असोज ४ मा बस्दैछ । साउन पहिलो साता बसेको केन्द्रीय समितिको बैठकअघि शेखरले गुटको भेला बोलाएका थिएनन् । इतर पक्षको भेलामा नेता कोइरालाले केन्द्रीय सदस्य प्रदीप पौडेललाई बोलाए पनि उनी सहभागी भएनन् ।