काठमाडौं । देशभरबाट आन्दोलनमा आएका शिक्षकहरु राजधानीको माइतीघरमा भेला भएर प्रदर्शन गरेका छन् । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरु आन्दोलनका लागि काठमाडौँ आएका हुन् ।
शिक्षकहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
विगतको सहमति अनुसार विधेयक नआएको भन्दै महासंघले विधेयकका दफा ७१ देखि ८८ सम्म राखिएका विभिन्न प्रावधानमा संशोधन गर्नुपर्ने माग गरेर आन्दोलन थालेको हो ।
संसदमा दर्ता भएको विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति राखेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । ती माग पुरा नभएसम्म आन्दोलन नरोकिने महासंघको भनाइ छ । महासंघका अनुसार बुधबार माइतीघरमा भेला भएका शिक्षकहरु जुलुससहित नयाँ बानेश्वर पुग्ने कार्यक्रम छ । त्यहाँ वृहद कोणसभा हुनेछ ।
शिक्षक महासंघले अस्थायी प्रकृतिका शिक्षकहरु राहत, साविक उमावि, अस्थायी/करार, शिक्षक सिकाए अनुदान, विशेष शिक्षा, प्राविधिक धार लगायतका शिक्षकहरुको लागि आन्तरिक परीक्षाबाट स्थायी हुनुपर्ने, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गरी स्थायी प्रकृयामा लानुपर्ने, निवृत्तिभरण तथा पेन्सनको लागि अस्थायी सेवा अवधिको पनि गणना हुनुपर्ने, प्रधानाध्यापकको नियुक्ति शिक्षक सेवा आयोगबाट हुनुपर्ने, ट्रेड युनियनको अधिकार हुनुपर्ने लगायतको १८ बुँदे माग राख्दै आन्दोलन गर्ने घोषणा गरेको छ ।
विद्यालय बन्द गरेर आन्दोलनमा होमिएका शिक्षकहरुलाई वार्तामा आउन शिक्षा मन्त्रालयले आह्वान गरे पनि शिक्षकहरु वार्तामा बसेका छैनन् ।
प्रतिक्रिया