कार्यशैली सच्याउन देउवालाई शेखरकाे चेतावनी

कार्यशैली सच्याउन देउवालाई शेखरकाे चेतावनी



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति आलोचना गरेका छन् । मंगलबार आफू पक्ष नेताहरूको भेलामा भएको सहमतिअनुसार देउवा निवास धुम्वाराही पुगेर कार्यशैलीप्रति असन्तुष्टि पोखेका हुन् । उनले देउवालाई कार्यशैली सच्याउन आग्रह पनि गरेका छन् ।

शेखरसँगै उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार सभापति देउवालाई भेट्न धुम्वाराही गएका थिए । नेता कोइरालाले पार्टीलाई एकलौटी ढंगले सञ्चालन नगर्न सभापति देउवालाई चेतावी समेत दिएका हुन् ।

देउवासँगको भेटमा संस्थापनइतरका नेताहरुले कोशी प्रदेश, सरकारको प्रभावकारिता, सभापतिका निर्णय प्रक्रिया, संसदीय समितिको सभापति चयन, भ्रातृ संस्थाका पदाधिकारी तथा सदस्य चयनमा मनोमानी भएको बताएका थिए ।

कोइरालाले नेतृत्वको गलत निर्णयले कोशी प्रदेशमामा कांग्रेसको शीर निहुरीको बताए । कोइरालाले आफ्ना कुराहरुको सुनुवाइ नभएकामा आक्रोश पोखेका छन् ।

‘तपाई यसरी नै चल्ने हो भने आजबाट म तपाईंसँग कुरा गर्दिनँ । जे गर्नुहुन्छ, गर्नुहोस् । म आफ्नो ढंगबाट अघि बढ्छु,’ कोइरालाले भने । जवाफमा सभापति देउवाले सबैलाई समेटेर अघि बढ्न तयार रहेको बताएका छन् ।

केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने रणनीतिबारे शेखरले मंगलबार आफूनिकटका नेताहरूसँग छलफल गरेका थिए ।