काठमाडौं । विद्यालय बन्द गर्ने शिक्षकलाई काठमाडौं महानगरपालिकाले कारबाही गर्ने भएको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौं केन्द्रित आन्दोलन भइरहेका बेला महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या पारेको खण्डमा त्यस्ता शिक्षकहरूमाथि कारबाही गर्ने जनाएको हो ।
काठमाडौं महानगरपालिकाले शिक्षा विभागलाई आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन दिएको छ । महानगरका प्रेस संयोजक सुरेन्द्र बजगाईँले शिक्षकहरूको आन्दोलनका कारण विद्यालय बन्द भएको खण्डमा कारबाही गरिने बताए ।
यदि विद्यालय बन्द गरेर पठनपाठनमा अवरोध पुगेको देखिएको खण्डमा महानगरको शिक्षा ऐन अनुसार कारबाही गर्ने तयारी गरेको हो ।
यसअघि पनि काठमाडौं महानगरपालिकाले शिक्षक कर्मचारीहरूलाई बन्द हडताल नगर्न चेतावनी दिँदै आएको थियो । विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारी बन्द हडतालमा उत्रिएको खण्डमा सेवाबाट बर्खास्त गर्ने सम्मको चेतावनी दिएको थियो ।
प्रतिक्रिया