काठमाडौं । संसद्मा दर्ता विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकले बिहीबार पनि आन्दोलन जारी राख्दा काठमाडौं उपत्यकाको सडक अस्तव्यत भएको छ । माइतीघर-नयाँबानेश्वरसम्म जारी आन्दोलनका कारण बानेश्वर, बिजुलीबजार र थापाथली सडकमा सवारीहरु जाममा परेका छन् ।
नदी किनाराका करिडोरमा समेत सवारी चाप बढेकाले जामको असर सबैतिर देखिएको छ । जामले सवारीमा यात्रारतहरु हैरान छन् । सडकमा ट्राफिक व्यवस्थापन गर्न प्रहरीहरुलाई हम्मेहम्मे परेको छ ।
आज बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा शिक्षक नेतृत्वसँगको वार्ता निष्कर्षविहीन टुंगियो । शिक्षक महासंघले विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताएका छन् ।
विभिन्न जिल्लाबाट शिक्षक-शिक्षिका आन्दोलनका लागि काठमाडौं आएका छन् । सामुदायिक विद्यालयहरुको छाता संगठन नेपाल शिक्षक महासंघको आह्वानमा यो आन्दोलन सुरू भएको हो । महासंघले देशभरका सबै सामुदायिक विद्यालयहरु बन्द गराएको छ ।
शिक्षकहरूको आन्दोलनको कारण देशभरका झण्डै ३० हजार विद्यालय बन्द हुनुका साथै ७० लाख जति विद्यार्थी पढ्नबाट वञ्चित भएका छन् ।
विधेयकमा विभिन्न १८ बुँदे असहमति राख्दै शिक्षकहरु आन्दोलित भएका हुन् । राहत, करार, बालविकास, स्थायीलगायत शिक्षक कर्मचारी आन्दोलन सहभागी छन् । सरुवा, बढुवा, दरबन्दी लगायतका मुद्दा उठाएका उनीहरुले स्थानीय तह मातहत नबस्ने बताएका छन् ।
काठमाडौं महानगरले आन्दोलन जाने शिक्षक र विद्यालय बन्द भए प्रअलाई कारबाही गर्ने चेतावनीका बाबजुद उनीहरूले हिजै आन्दोलनमा सहभागी हुने निर्णय गरेका थिए ।
प्रतिक्रिया