काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुलुकमा संघीयताका विषयमा चौतर्फी आक्रमण भइरहेको भन्दै कांग्रेसले त्यसबारे प्रष्ट धारणा बनाएर जानुपर्ने बताएका छन् ।
आइतबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले संघीयताका विषयमा प्रष्ट धारणा नभएकै कारण प्रदेश र स्थानीय तहलाई बलियो बनाउने गरी संविधान र संघीयताअनुकुलका कानूनहरु बन्न नसकेको बताए ।
उनले कांग्रेसले संविधानमा उल्लेख भएर मात्र संघीयतालाई आत्मसात गरेको हो वा यसलाई लागू गर्ने दृढ इच्छाशक्ति पनि छ भनेर प्रश्न गरेका हुन् ।
‘संघीयताका विषयमा प्रश्न उठिरहेका छन् । अब कांग्रेस यो बारेमा प्रष्ट हुनुपर्छ भन्ने मलाइ लाग्छ’, मुख्यमन्त्री पाण्डेले प्रश्न गरे, ‘संघीयता हामीले संविधानमा लेखेका कारण आत्समात गरेका हौं वा हाम्रो यो चाहना पनि हो । यसलाई लागू गर्ने हाम्रो दृढ इच्छाशक्ति छ कि छैन ?’
संविधानमा कल्पना गरेअनुसारको कानुन संघीय सरकारले नबनाउँदा प्रदेश सरकारले चाहेर पनि काम गर्न नसक्ने अवस्था रहेको उनले बताए । ‘म मुख्यमन्त्री छु, मैले चाहेर पनि गर्न सक्ने अवस्था धेरै छैन । संविधानमा जे कल्पना गर्यौं, त्यो अनुसार कानुन बनाउन सकेनौं बनाउने रुचि पनि देखाएका छैनौं’, उनले भने ।
संघीय, प्रदेश र स्थानीय गरी तीन तहको संरचना रहेकामा अहिले पहिलो प्रहार प्रदेश संरचनामाथि भइरहेको उनले बताए ।
‘विकास गाउँ–गाउँमा पुगेको छ । तर रोजगारी नपाएका कारण युवाहरू विदेश पलायत भइरहेका छन् । वास्तवमा थुप्रै समस्याहरू समाजमा देखिईरहेका छन् । तर त्यो सबैको कारण आज संघीयतामाथि, र त्यसमाथि पनि प्रदेश संरचनामाथि प्रश्न उठिरहेको छ,’ उनले भने, ‘वास्तवमा प्रदेश नयाँ संरचना पनि हो । त्यसकारण पनि सबैतिरबाट प्रदेशमाथि आक्रमण भइरहेको होला । हिजो हामीले संघीयतामा जाँदै-गर्दा जनताको घर–घरमा सिंहदरबार पुर्याउँछौं भन्यौं । संविधानमा व्यवस्था गर्यौं, तर संविधान र संघीयताको मर्मबमोजिम संघीयताअनूकुलका कानुनहरू प्रबन्ध गर्न सकेनौं । त्यस्तो कानुन बनाउने रुचि पनि हामीले राखेका छैनौं । त्यसकारण यदि हामीले संघीयतालाई, प्रदेशलाई बलियो बनाउन चाहेको हो भने यथासक्य छिटो त्यसअनुसार कानुनहरू बनाउने काम गर्नुपर्छ भन्ने लाग्छ ।’
बैठकमा संघीयताकै बारेमा धेरै प्रश्नहरु उठेको भन्दै उनले संघीयताका विषयमा कम्तिमा अब कांग्रेसले अस्पष्ट धारणा राख्न नमिल्ने बताए ।
उनले अहिलेकै अवस्थामा प्रदेश सरकारले जनतामा आशा जगाउने गरी केही पनि गर्न नसक्ने बताए । यदि प्रदेश सरकारप्रति विश्वास जगाउने भए तत्काल तीन वटा कानुन संशोधन र निर्माण आवश्यक रहेको उनको धाराणा छ ।
‘मेरो लामो अनुभव त होइन । यदी प्रदेशलाई बलियो बनाउने हो भने प्रहरी समायोजन, संघीय निजामती कानुन र जग्गा प्राप्ति अधिकारसम्बन्धी कानुन निर्माण र संशोधन हुनुपर्छ,’ उनले भने, ‘यी तीनवटा अधिकार प्रदेश सरकारलाई नहुने हो भने म पनि आज एउटा प्रदेशको मुख्यमन्त्री हुँ । प्रदेश सरकारहरुले केही पनि गर्न सक्दैनन् ।’
प्रतिक्रिया