काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार सरकार नालायक भएकोले एकैछिन राख्न नहुने बताएका छन् ।
आइतबार ओखलढुङ्गाको रामपुरमा गुरु लुइँटेल स्मृति पार्कको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नौ महिनामा सरकारले एउटा सिन्को पनि नभाँचेको बताए ।
‘अनि अहिलेको यो सरकार बसिरहनु हुन्छ, तपाईँहरू भन्नुस् त ? यस्तो सरकार राख्न हुन्छ ? तपाई हामी नेपाली जनताले यो सरकार जुनसुकै तरिकाले भए पनि टिपेर मिल्काउनुपर्ने अवस्था आइसक्यो’, ओलीले भने ‘यति नालायक सरकार । जनता हेर्दैन, सुनतिर हेर्छ यो सरकार ।’
उनले सरकारले नै भ्रष्टाचार, कुशासन र हिंसालाई प्रोत्साहन गरिरहेको आरोप लगाएका छन् । ‘ब्रेक सु ल्याउँछ–सुन, सिगरेट ल्याउँछ–सुन, पानी तान्ने मेसिन भन्छ–सुन । स्याउ ल्याउँछ–सुन’, उनले भने, ‘सरकारले भ्रष्टाचार बढाएको छ, तस्करी र हिंसा मच्चाएको छ । मलंगवामा निषेधाज्ञा छ । हिंसा भड्काउने प्रयास भइरहेको छ तर सरकार हेरेर बसेको छ’, अध्यक्ष ओलीले भने ।
उनले सरकारलाई सुन तस्करी देख्यौ ? भनेर सोध्दा अर्कोतिर फर्किएर देखिनँ भन्ने गरेको बताए ।
अहिले कांग्रेस पार्टी विचरा अवस्थामा पुगेको ओलीको टिप्पणी थियो । ‘कांग्रेस त के पार्टी छ भन्नु र ?,’ ओलीले भने, लुरुलुरु प्रचण्डको पछिपछि हिँड्नै भ्याइराको छैन ।’
उनले प्रधानमन्त्री विदेश भ्रमणमा हुँदा किन सदन नचलाएको भन्दै प्रश्न गरेका छन् ।
प्रतिक्रिया