काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । सिंहदरवारमा साढे १२ बजे बस्नेगरी आकस्मिक मन्त्रिपरिषद बैठक बोलाइएको हो । बैठकमा पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिबारे छलफल गर्नुका साथै सुन तस्करी छानविनका लागि बन्ने आयोगबारे निर्णय हुनेछ ।
दसैँको मुखमा मूल्य बढाएको भन्दै चर्को आलोचनापछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ । आइतबार बिहान नेपाल आयल निगमका कार्यकारी प्रमुख उमेशप्रसाद थानीलाई बोलाएर प्रधानमन्त्रीले थाहै नदिई किन मूल्य बढाएको भन्दै असन्तुष्टी पोखेका थिए ।
प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद् बैठकले खाना पकाउने ग्याँसमा सहुलियत घोषणा गर्ने प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।
प्रतिक्रिया