एमाले गण्डकी अधिवेशनमा बिहीबार मतदान

एमाले गण्डकी अधिवेशनमा बिहीबार मतदान



काठमाडौं । नेकपा एमालेको गण्डकी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि (बिहीबार) हुने भएको छ ।

बुधबार उमेदवारीमाथि दाबी विरोध र फिर्ताको काम गरिने निर्वाचन समितिका प्रमुख सुरेन्द्र थापाले जानकारी दिए ।

गण्डकीमा निर्वाचनका लागि आज उमेदवारी मनोनयन भएको छ । पोखरा सभागृहमा जारी अधिवेशनले पाँच पदाधिकारीसहित १ सय ६२ सदस्यीय नयाँ नेतृत्व चुन्नेछ । अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ८ प्रतिनिधि सहभागी छन् । गण्डकी एमालेमा दुई समूह चुनावी प्रतिस्पर्धामा छन् ।

अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीबीच प्रतिस्पर्धा हुँदै छ । वर्तमान प्रदेश अध्यक्षसमेत रहेका शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको साथ छ ।

शर्माको प्यानलबाट उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी, तथा उपसचिवमा क्रमशः मञ्जु अधिकारी र दामबहादुर विकले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी अधिकारीको प्यानलबाट उपाध्यक्षमा बाबुराम विक, सचिवमा रश्मि आचार्य तथा उपसचिवमा सन्तोष रावल र मिना गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।