माथिल्लो मैलुङ खोलाको आईपीओ बिक्री खुला

माथिल्लो मैलुङ खोलाको आईपीओ बिक्री खुला



काठमाडौं । माथिल्लो मैलुङ खोलाको बिहीबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आईपीओ जारी गरेको हो । यो मध्ये १० प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ । यस्तै, ५% अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि पनि बाँडफाँट भएको छ । 

यसैगरी, आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दालाई बिक्री गरेर बाँकी रहेको ९ हजार २०० कित्ता सेयरसमेत थप गरेर अब सर्वसाधारणलाई आईपीओ ल्याइएको हो । अब १२ लाख ८४ हजार २०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिने छ । यो आईपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

कम्पनीले रसुवा जिल्लास्थित मैलुङ खेलाको पानी प्रयोग गरी १४.३ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ भने यस कम्पनीले २०७९ पुस १५ गतेदेखि नियमित रुपमा विद्युतको व्यापारिक उत्पादन समेत सुरु गरेको छ । 

माथिल्लो मैलुङ खोलाको अधिकृत पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । यस्तै, जारी पुँजी १ अर्ब रुपैयाँ रहेको छ । चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासनपछि चुक्ता पुँजी जारी पुँजी बराबर नै अर्थात् १ अर्ब रुपैयाँ पुग्नेछ । यसमध्ये संस्थापक सेयरधनीको हिस्सा ७० प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको हिस्सा र सर्वसाधारण सेयरधनी समूहको हिस्सा २५ प्रतिशत र आयोजनामा कार्यरत कर्मचारीको हिस्सा ५ प्रतिशत रहनेछ । 

कम्पनीले आर्थिक वर्ष २०८२/८३ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन । उक्त आवसम्म आइपीओ बिक्रीपछि कायम हुने १ अर्ब रुपैयाँ पुँजी नै यथावत् रहनेछ । चालु आर्थिक वर्षको अन्त्यसम्म ४९ लाख १६ हजार रुपैयाँ नाफा कमाउने वित्तीय प्रक्षेपणमा उल्लेख गरेको छ । त्यस्तै, २०८१—८२ मा ८ करोड २२ लाख ८३ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । साथै, २०८२/८३ मा १० करोड ४ लाख ३२ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण रहेको छ ।

यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी ४९ पैसा र प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ८८ पैसा कायम हुने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०८२–८३ सम्ममा प्रतिसेयर आम्दानी १० रुपैयाँ ०४ पैसा हुने प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ २० पैसा हुने प्रक्षेपण छ ।