जाँचबुझ आयोगद्वारा सुन तस्करीको छानबिन सुरू

जाँचबुझ आयोगद्वारा सुन तस्करीको छानबिन सुरू



काठमाडौं । सरकारले गठन गरेको ‘सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग–२०८०’ ले आफ्नो काम थालेको छ । बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर आयोगका अध्यक्ष डिल्लीराज आचार्यले कार्य प्रारम्भ भएको जानकारी गराएका हुन् ।

गृहमन्त्रालयको पुरानो भवन परिसरमा कार्यालय राखेर काम सुरू गरिएको हो ।

आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा इलेक्ट्रोनिक सिगरेट (भेप्स) र साउन २ गते ब्रेक सुबाट गरिएको सुन तस्करीलगायतका अन्य तस्करीजन्य विषयमा तथ्यगत जानकारी र सुझावका लागि सञ्चारमाध्यमबाट सूचना प्रकाशन गर्ने जानकारी दिइएकाे छ ।

त्यस्तै सुन तस्करीको पूर्ण नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन र संरचनात्मक सुधार, यसअघिका तस्करीको छानबिन तथा अध्ययन र निष्कर्ष तथा प्रभाव, तस्करीमा संलग्न व्यक्तिहरूको संलग्नता र थप अनुसन्धानलगायतमा विषयमा पनि अध्ययन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएकाे छ ।