काठमाडौं । कोशी प्रदेश संसदमा मुख्यमन्त्री हिक्मत कार्कीले शनिबार विश्वासको मत लिँदैछन् । सोझो हिसाबले हेर्दा मुख्यमन्त्री कार्की स्पष्ट अल्पमतमा छन् । राजनीतिमा अनेक सम्भावना हुने भएकाले विभिन्न कोणबाट छलफल भइरहेको छ ।
एमाले संसदीय दलका उपनेता राम राना मगरका अनुसार शनिबार १२ बजेसम्म विश्वासको मत लिने अथवा मार्गप्रसस्त गर्ने भन्ने निर्णयमा एमाले पुग्नेछ । रानाले भने, ‘दलहरुसँग वार्ता सकारात्मक भयो भने मुख्यमन्त्रीले विश्वासको मत लिनुहुन्छ, वार्ता असफल भयो भने मार्गप्रसस्त गरेर विकल्पबारे छलफल गर्न एमाले तयार छ ।’
सबै राजनीतिक दलहरुसँग सम्भावनाबारे व्यापक छलफल भइरहेको उपनेता रानाले जानकारी दिए । उनले भने, ‘वार्ताबाट अहिलेसम्म कुनै निष्कर्ष निस्केको छैन, तर शनिबार १२ बजेसम्म निष्कर्षमा पुग्नसक्ने सम्भावना बलियो छ ।’
एमालेलाई राप्रपाको साथ
बहुमत पुग्ने परिस्थिति सिर्जना भयो भने मुख्यमन्त्री कार्कीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सहयोग गर्ने भएको छ । ६ सिट रहेको राप्रपा बहुमत पुग्ने अवस्था सिर्जना भए कार्कीलाई विश्वासको मत दिने निष्कर्षमा पुगेको छ । राप्रपा सांसद प्रेम थामसुहाङका अनुसार बहुमत पुग्ने अवस्थामा मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने राप्रपाले निर्णय गरेको छ । बहुमत नपुग्ने स्थिति भयो भने राप्रपा न्यूटल बस्छ, सांसद थामसुहाङले भने, ‘त्यसपछि धारा १६८ को उपधारा ५ बमोजिम बन्ने सरकारको बारेमा राप्रपामा कुनै छलफल भएको छैन ।’
प्रदेशसभामा एमालेसँग उपसभामुखसहित ४० सिट छ । उपसभामुखले सभा सञ्चालन गर्नुपर्ने भएकाले एमालेको ३९ मत मात्र गन्तीमा आउँछ । राप्रपाले सहयोग गरे एमालेको ४५ मत हुन्छ । विश्वासको मत लिन ४७ मत आवश्यकता पर्छ । मुख्यमन्त्री कार्कीलाई विश्वासको मत लिन २ मत अपुग हुन्छ ।
यो २ मतको खोजीमा एमालेले महिना दिन अगाडिदेखि एक्सरसाइज गरिरहेको छ । विभिन्न चरणको वार्ता र प्रस्ताव अगाडि सारिसकेको छ । सर्वदलीय सरकार बनाउँ भन्ने प्रस्ताव लिएर एमाले कांग्रेस समक्ष पुगेको थियो । यहि प्रस्तावपछि कांग्रेस एमाले मिलेर सरकार बन्ने चर्चाले एक समय ब्यापकता पाएको थियो । तर, कांग्रेसले ठाडै अस्वीकार गरेपछि त्यो चर्चा त्यत्तिकै सेलाएर गयो ।
फ्लोर क्रसको चर्चा
मुख्यमन्त्री कार्कीलाई नेकपा एकीकृत समाजवादीका दुई सांसदले फ्लोर क्रस गरेर विश्वासको मत दिने चर्चाले पनि ब्यापकता पाएको थियो । सामान्य ढंगले हेर्दा यो असम्भवजस्तै देखिन्छ । तर, एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाल पक्षका दुई सांसदले फ्लोर क्रस गर्न सक्ने सम्भावना बनेको थियो । यता पार्टी अध्यक्ष माधवकुमार नेपालले गठबन्धनबाट अलग्गिने नसोचेको स्पष्ट पारिसकेपछि यो चर्चा पनि अहिले त्यत्तिकै सेलाएको छ ।
कुनै जोडबलले बहुमत नपुग्ने परिस्थिति सिर्जना भयो भने मुख्यमन्त्री कार्कीले शनिबार १२ बजे अगाडि नै संविधानको धारा १६८ को उपधारा ५ बमोजिम अर्को सरकार गठनको लागि मार्गप्रसस्त गरिदिने छन् । यदि यो परिस्थिति सिर्जना भयो भने बल फेरि गठबन्धनको कोर्टमा पुग्नेछ ।
तसर्थ, शनिबार दिउँसो १ बजे बस्ने कोशी प्रदेश सभा अगावै सम्भावित यी चार विकल्पमा दलहरु पुग्ने देखिन्छ । पहिलो, सर्वदलीय सरकार गठन गर्ने । दोस्रो, समाजवादीका दुई सांसदले फ्लोर क्रस गराएमा राप्रपाले साथ दिने र कार्कीले विश्वासको मत पाउने । तेस्रो, सर्वदलीय सरकार बन्ने अवस्था नरहे र दोस्रो विकल्पले काम नगरे विश्वासको मत नलिइकन एमालेले मार्गप्रसस्त गरिदिने । चौथो, धारा १६८ को उपधारा ५ बमोजिम सरकार निमार्णको प्रक्रियामा जाने ।
हिक्मतपछि मुख्यमन्त्री को ?
दलहरु मध्यावधि निर्वाचनमा नजाने कुरामा एक मत छन् । यति हुँदाहुँदै पनि उपधारा ५ अन्तर्गत बनेको सरकारले पनि विश्वासको मत प्राप्त गर्न सकेन भने बाध्य भएर दलहरु मध्यावधि निर्वाचनमा जानुपर्ने हुन्छ ।
गठबन्धनको कोर्टमा बल आइसकेपछि को मुख्यमन्त्री बन्ने भन्ने विषय यतिबेला पेचिलो बनेको छ । मुख्यमन्त्री पद कांग्रेसबाट खोस्ने प्रयासमा माओवादी छ भने कांग्रेस मुख्यमन्त्री पद गुमाउने पक्षमा छैन । बरु कांग्रेस संसदीय दलका नेता उद्धव थापाबिरुद्ध कांग्रेसभित्रकै अर्को असन्तुष्ट पक्षको भूमिका महत्वपूर्ण हुने देखिन्छ । कांग्रेसले संसदीय दलको नेता परिवर्तन ग-यो भने गठबन्धनमा राप्रपा पनि मिसिएर वातावरण सहज बन्ने देखिएको छ ।
माओवादी संसदीय दलमा पनि कांग्रेसकै जस्तो किचलो गाँझिएको छ । संसदीय दलका नेता इन्द्र आङबुहाङले पार्टी अध्यक्ष पुष्पकमल दाहालको विश्वास गुमाइसकेका छन् । माओवादी पार्टी पनि संसदीय दलको नेता फेर्ने कसरतमा छ । आङबुहाङको सट्टामा पूर्वसभामुख बाबुराम गौतमलाई संसदीय दलको नेता बनाउने र मुख्यमन्त्रीको उम्मेदवार बनाउने समूह बलियो देखिन्छ ।


प्रतिक्रिया