काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालो मोसो दलिएको छ । सोमबार काठमाडौंको जमलस्थित एलोप्यागोडा होटलमा युवाहरूको समूहले प्रसाईंलाई कालो मोसो दलेको हो । प्रसाईंले एलोप्यागोडा होटलमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।
पत्रकार सम्मेलनका लागि जाँदै गर्दा केही युवाहरूको समूहले प्रसाईंलाई कालो मोसो दलेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले प्रसाईमाथि दुर्व्यवहार भएको जानकारी दिए । उनकाे शरीरको कपडा पनि च्यातिएको देखिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको संयोजक रहेका प्रसाईँले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिँदै आएका थिए । प्रसाईंले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने भन्दै कालोमोसो दस्ता नै बनाएका थिए । गत फागुन १३ गते चितवनमा कालोमोसो दस्ताको केन्द्रीय संयोजकको रूपमा शम्भु थापालाई घोषणा गरेका थिए ।
प्रसाईं झापाको बीएन्डसी अस्पतालका सञ्चालक हुन् ।


प्रतिक्रिया