काठमाडौं । संसद्मा प्रतिनिधित्व गर्ने दलहरूले जनताको साझा दुःखमा एकैठाउँमा उभिएर सहकार्य गर्ने निष्कर्ष निकालेका छन् ।
आज साँझ सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सत्तापक्ष र प्रतिपक्ष भन्ने नभइ जनताको पक्षमा उभिने निष्कर्ष निकालेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
“सम्माननीय प्रधानमन्त्रीज्यूले इजरायल घटनाबारे सिंहदरबारमा बोलाएको संसदमा रहेका दलहरूको सर्वदलीय बैठक सकिएको छ,” मल्लले फेसबुकमा लेखेका छन्, “दुःखको समयमा सत्तापक्ष, प्रतिपक्ष नभइकन नेपाली जनताको साझा दुःखमा एकैठाउँमा उभिएर सहकार्य गर्ने दलहरूको निष्कर्ष रहेकोे छ ।”
बैठकमा सहभागी दलीय प्रतिनिधिहरुले इजरायलमा नेपालीहरुलाई सुरक्षित स्थानमा राख्ने वा नेपाल फर्काउनुपर्नेमा जोड दिएका थिए । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले सन्तुलित र समन्वयकारी भूमिका खेल्न नसकेको बताए ।
अन्य नेताहरुले पनि आपत्मा परेकाहरुलाई सुरक्षित ठाउँमा राख्न तथा शव चाँडो झिकाउने विषयमा सरकारलाई अग्रसरता लिन सुझाव दिएका थिए । कांग्रेस सचेतक रमेश लेखकले भने, ‘राष्ट्रिय पिडाको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भयो ।’
कसरी अगाडि बढ्ने त ? भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ दिए, ‘मुलत बंकरमा रहेकाहरुलाई उद्दार गर्ने र मृत्यु भएकाहरुको शव यथासिघ्र चाँडो झिकाएर परिवारलाई पुर्याउने विषयमा छलफल भयो । नेपालीहरु यदि देशभित्र फर्किन चाहन्छन् भने फर्काउने र त्यही बस्न चाहनेलाई सुरक्षाको प्रत्याभूति गराउनुपर्नेमा जोड दिइयो ।’


प्रतिक्रिया