हमास समूह सखाप पार्न जस्तोसुकै सहयोग गर्ने अमेरिकी राष्ट्रपतिको प्रतिबद्धता

हमास समूह सखाप पार्न जस्तोसुकै सहयोग गर्ने अमेरिकी राष्ट्रपतिको प्रतिबद्धता

हतियार बोकेको विमान इजरायलको एअर बेसमा पुग्यो



जेरुसेलम । अमेरिकी हतियार बोकेको विमान इजरायलको एअर बेसमा पुगेको छ । इजरायली सेनाका अनुसार अमेरिकाबाट आएको यो पहिलो युद्ध विमान हो ।

बीबीसीका अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आज जोर्डन र इजरायलको भ्रमणमा निस्कँदै छन् । ब्लिन्केन इजरायल पुग्नुअघि नै हतियार र लडाकु विमान इजरायल पुगिसकेका खबरमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पटक पटक टेलिफोन कुराकानी गरेर अमेरिकाले हतियार, विमान, रक्षा मिसाइल लगायत सबै प्रकारका सहयोग गर्ने वाचा गरेका छन् । बाइडेनले अब कहिल्यै पनि युद्ध नदोहोरिने गरी हमास समूहलाई सखाप पार्न आग्रह गरेकाे पनि खबरमा उल्लेख छ ।

गएको शनिवार बिहान प्यालेस्टाइनको हमास समूहले इजरायलमा गरेको आक्रमणमा १२ सय जना इजरायलीको ज्यान गएको छ । हमासको आक्रमणपछि तीव्र रूपमा जवाफी कारबाही गरेको इजरायलले गाजा क्षेत्र ध्वस्त बनाइदिएको छ । गाजामा अहिलेसम्म नाै सय ५० जनाको ज्यान गएको र १५ सय जना जनाभन्दा धेरै हमास लडाकुको ज्यान गएको इजरायली दाबी छ ।

इजरायलले गाजामा एउटा संरचना पनि बाँकी नराख्ने घोषणा गरेको छ । पानी र खाद्यान्नमा समेत नाकाबन्दी लगाएका कारण गाजाको जनजीवन कष्टकर बनेको छ ।