काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियुक्तिमा संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।
बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले आयोगको नियुक्तिमा दलगत हस्तक्षेप र भागबन्डा बढी भएको बताएका हुन् । उनले अदालतसमेत नियुक्तिका विषयमा मुछिएको बताए । आयोगको नियुक्तिको मापदण्ड नबदलिकन अपेक्षा गरेकाे परिणाम नआउने उनकाे भनाइ छ ।
उनले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग संविधानबाट नै सिर्जना गर्याैँ । आयाेगलाई अधिकार र जिम्मेवारी पनि दियाैँ । तर आयाेगबाट अपेक्षाकृत परिणाम आएन । किनकि यसकाे जरामै समस्या छ । यसको नियुक्तिमै समस्या छ । यसको नियुक्तिमा धेरै दलगत हस्तक्षेप र भागबन्डा भएको छ, पछिल्लो समय अदालत पनि तानिएको छ, मुछिएको छ । अख्तियारको प्रमुख स्वयंलाई आयाेगकाे दुरुपयोग गरेको, भ्रष्टाचारको मुद्दा लागेकाे छ, सदस्य सचिवलाई मुद्दा लागेको अवस्था छ । कानुन नै संशाेधन गर्नुपर्छ ।’
महामन्त्री थापाले संवैधानिक परिषद्सम्बन्धी कानुनमा संशोधन गरेर यसको संसदीय सुनुवाइ नभई सार्वजनिक सुनुवाइ गर्ने व्यवस्था नथपिकन अपेक्षित परिणाम प्राप्त गर्न नसकिने बताए । नीतिगत निर्णय के हो भन्नेबारेमा छुट्टै कानुन बनाइनुपर्ने उनकाे भनाइ छ ।


प्रतिक्रिया